फिल्म । भारतीय फिल्मका सफल निर्देशक रोहित शेट्टी र बलिउडका ‘सिंघम’ अजय देवगन फेरि एक पटक सँगै काम गर्ने भएका छन् । यसअघि १३ वटा सफल फिल्ममा सहकार्य गरिसकेका यो जोडी अब आफ्नो १४औँ प्रोजेक्ट, फिल्म ‘गोलमाल ५’ मा एकसाथ देखिने तयारीमा छन् ।
पिंकभिलाको रिपोर्ट अनुसार, शेट्टी र देवगनले लामो समयदेखि चर्चामा रहेको ‘गोलमाल ५’ का लागि नयाँ टोली गठन गर्दैछन् । निर्देशक शेट्टी हाल जोन अब्राहमसँग राकेश मारियाको बायोपिकको छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकन यसै वर्षको सेप्टेम्बरसम्ममा सकिने अपेक्षा गरिएको छ । बायोपिकको सम्पादन कार्य यस वर्षको अन्त्यसम्ममा पूरा गरी २०२६ को प्रारम्भमा रिलिज गर्ने योजना छ ।
शेट्टीले २०२६ को फेब्रुअरी वा मार्च बाट ‘गोलमाल ५’ को छायांकन सुरु गर्ने लक्ष्य राखेका छन् । ‘गोलमाल ५’ को आधारभूत कथावस्तु तयार भइसकेको र पटकथा लेखनको काम पहिलेदेखि नै चलिरहेको बताइएको छ । रिपोर्ट अनुसार, लेखकहरूको नयाँ समूहले ‘गोलमाल ५’ को स्क्रिप्टमा काम गरिरहेको छ, जुन सेप्टेम्बर २०२५ सम्ममा पूर्णता पाउने अपेक्षा गरिएको छ । यसमा संवाद र अन्तिम ‘फिनिसिङ टच’ दिने काम पनि समावेश छ ।
यो फिल्मले अजय देवगनको अरशद वारसी, तुषार कपूर, कुणाल खेमु, श्रेयस तलपडे र जोनी लिभर लगायतका कलाकारहरूसँग पुनर्मिलन गराउने अपेक्षा गरिएको छ, जो अघिल्लो ‘गोलमाल’ शृङ्खलाका अभिन्न अंग हुन् ।
यसैबीच, अजय देवगनका धेरै फिल्महरू निर्माणको विभिन्न चरणमा छन् । २०२७ को प्रारम्भमा रिलिज हुने लक्ष्य राखिएको ‘गोलमाल ५’ मा काम गर्नुअघि उनले ‘रेन्जर’, ‘टोटल धमाल’ र ‘दृश्यम ३’ जस्ता फिल्महरुको काम सम्पन्न गरिसक्नेछन् ।










