‘महाभोज’ले सहकारी ठगीको मुद्दा संसदमा उठाउन बाध्य बनायो: सांसद शाही

फिल्म । हाल प्रदर्शनरत नेपाली फिल्म ‘महाभोज’ले सहकारी क्षेत्रको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै सांसद ज्ञानेन्द्र शाहीले यो मुद्दालाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकता औंल्याएका छन् । मंगलबार साँझ काठमाडौंको सुनधारास्थित क्यूएफएक्स सिनेमा हलमा फिल्म हेरेपछि सञ्चारकर्मीसँग उनले यस्तो बताए ।

उनले ‘महाभोज’ले कुनै व्यक्तिलाई नभई सहकारी ठगीको समग्र पक्ष उजागर गरेको बताए । सहकारीको राम्रो उद्देश्य भए पनि दुरुपयोग भइरहेको यथार्थ फिल्मले देखाएको उनको भनाइ छ ।

‘निर्देशकले जोखिम मोलेर यो कथा उठाउनुभएको छ, यसले हामीलाई संसदमा फेरि बोल्न बाध्य बनाएको छ’, शाहीले भने । उनले देशव्यापी समस्याको समाधानका लागि ऐन ल्याउन वा छानबिन गर्न आवश्यक रहेको दोहोर्‍याए । गत शुक्रबार रिलिज भएको ‘महाभोज’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकहरूले यसलाई ‘हेर्नैपर्ने’ फिल्म भन्दै प्रशंसा गरेका छन् ।

मंगलबार साँझ नै अभिनेता अनुभव रेग्मी, सलोन बस्नेत, गजित बिष्ट, निर्देशक शोभित बस्नेत, कोरियोग्राफर गम्भीर बिष्टलगायतले फिल्म हेरेर यसको विषयवस्तु र प्रस्तुति नेपालका नेता, कार्यकर्ता र सर्वसाधारणले हेर्नैपर्ने बताए ।

दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखनमा बनेको ‘महाभोज’ क्लकवर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुति हो । हिमाल कडरियाद्वारा निर्मित यो फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल र सुरक्षा पन्तको अभिनय छ ।

कमेन्ट गर्नुहोस्