‘मिस युनिभर्स नेपाल २०२५’ को दर्ता खुला

सौन्दर्य । राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२५’ को दर्ता औपचारिक रूपमा खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौँस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो । कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले यो मञ्च सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म भएको बताइन् ।

यो वर्ष प्रतियोगिता आठ भागको रियालिटी टिभी शोको रूपमा प्रस्तुत हुनेछ, जसबाट दर्शकले प्रतियोगीको यात्रा, चुनौती र परिवर्तनलाई नजिकबाट अनुभव गर्न सक्नेछन् । दर्ता प्रक्रिया जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ । इच्छुक सहभागीले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट वा सामाजिक सञ्जालमार्फत दर्ता गर्न सक्नेछन् ।

सहभागीका लागि न्यूनतम १८ वर्ष उमेर र प्लस टु वा सो सरहको शैक्षिक योग्यता अनिवार्य गरिएको छ । प्रतियोगिता समावेशी बनाउन उचाइ, तौल वा वैवाहिक अवस्थामा कुनै प्रतिबन्ध राखिएको छैन । नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाले पनि सहभागिता जनाउन पाउनेछन् ।

कार्यक्रममा मिस युनिभर्स नेपाल २०२५ सम्पदा घिमिरे, अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालका देश निर्देशक नुमान ओजकान, मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरी, कोरियोग्राफर दिक्पाल कार्की र आयोजक अध्यक्ष साबी पुरीको उपस्थिति थियो ।

प्रतिस्पर्धीले साउनमा २५ दिनको गहन प्रशिक्षण प्राप्त गर्नेछन् भने भदौमा क्लोज क्याम्प र ग्रान्ड फिनाले आयोजना हुनेछ। मिस युनिभर्स नेपालले यस वर्ष समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्