अल्लु अर्जुनका लागि ६ हिरोइन खोज्दै एटली

फिल्म । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको चर्चा ‘पुष्पा २’ ले विश्वभर चुलिएको छ । यो सफलताले भारतीय फिल्मलाई समेत तरंगित बनाएको छ । यही बीच, ‘जवान’ का निर्देशक एटलीले आफ्नो नयाँ फिल्म ‘एएटुटुएक्ससिक्स’ मा अल्लु अर्जुनलाई लिएका छन् । यो फिल्म ८०० करोडको लागतमा निर्माण हुँदैछ र ग्लोबल स्तरको परियोजना हुने निर्माण पक्षले दाबी गरेको छ ।

निर्देशक एटली र अल्लु अर्जुनको जोडीलाई हेर्न फ्यानहरू उत्साहित छन् । रोचक कुरा, यो फिल्ममा अल्लु अर्जुन एक्लै नभई तीन फरक भूमिकामा देखिनेछन् । एउटा भूमिका एनिमेटेड क्यारेक्टरबाट प्रेरित, अर्को नेगेटिभ र तेस्रो योद्धाको हुनसक्ने बताइएको छ, यद्यपि निर्माताले आधिकारिक पुष्टि गरेका छैनन् ।

फिल्मको अर्को आकर्षण हो, ६ जना हिरोइन । हालै सिनेजोसको रिपोर्टअनुसार दीपिका पादुकोण मुख्य हिरोइनको भूमिकामा देखिनेछिन् । मृणाल ठाकुर र जान्हवी कपुरको नाम पनि जोडिएको छ । बाँकी तीन हिरोइनको चयन बाँकी छ, जसमा साउथ वा बलिउड अभिनेत्री हुनसक्ने अनुमान छ ।

‘पुष्पा’ को शैली र स्वरूपभन्दा फरक यो फिल्ममा अल्लु अर्जुनको नयाँ अवतार देख्न दर्शक आतुर छन् । यो मेगा प्रोजेक्टले विश्वव्यापी बक्स अफिसमा तहल्का मच्चाउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्