‘नेपाली समाज, संस्कृति र मानवीय संवेदनाको सुन्दर प्रस्तुति हो, ऊनको स्वीटर’

फिल्म । विश्वप्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा ओस्कर मनोनीत निर्देशक एरिक भ्यालीले नेपाल भ्रमणका क्रममा हेरेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले यो फिल्मलाई नेपाली समाज, संस्कृति र मानवीय संवेदनाको सशक्त र सुन्दर प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् । नेपालको सांस्कृतिक अध्ययनमा लामो समयदेखि समर्पित भ्यालीले भने,‘म नेपाली फिल्म उद्योगको प्रगति देखेर अत्यन्तै प्रभावित भएको छु । ‘ऊनको स्वीटर’ ले परिवारको भावनात्मक गहिराइ र सांस्कृतिक कथालाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरेको छ । मैले विगतमा धेरै नेपाली फिल्मका स्क्रिप्टमा कमजोरी देखेको थिएँ, तर यो फिल्ममा त्यस्तो कुनै कमी पाइनँ । यो उत्कृष्ट लेखन, निर्देशन र अभिनयको संयोजन हो । दृश्यांकनदेखि कलाकारहरूको अभिनयसम्म सबै पक्ष प्रशंसनीय छन् ।’

उनले ‘ऊनको स्वीटर’ जस्ता फिल्महरूले नेपाली फिल्म उद्योग नयाँ उचाइ र गहिरा विषयवस्तुमा प्रवेश गरेको संकेत गरेको बताए । उनले थपे,‘नेपालका नयाँ पुस्ताका फिल्म निर्माताहरू अबको नेपाली फिल्म उद्योगको प्रमुख आशा हुन् । ‘ऊनको स्वीटर’ जस्ता फिल्मले यही सम्भावनालाई पुष्टि गर्छ ।’

निर्देशक नवीन चौहानद्वारा निर्देशित ‘ऊनको स्वीटर’ पछिल्लो समय नेपाली फिल्म बजारमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारहरूको जीवन्त अभिनयले यो फिल्मलाई दर्शकमाझ विशेष बनाएको छ ।

निर्माता संस्था आर्टमाण्डूका अनुसार फिल्मले प्रदर्शनको दुई हप्तामै ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ र यो आँकडा अझै बढिरहेको अनुमान छ ।

कमेन्ट गर्नुहोस्