किन कान्स पुगे उद्योगपति वरुण चौधरी ?

देश । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा यस वर्ष नेपालको प्रतिष्ठित चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा एलजी सिने सर्कल अवार्डका संरक्षक वरुण चौधरीले सहभागिता जनाएर नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप उजागर गरेका छन् । श्रीमती अनुश्री चौधरीसहित उक्त भव्य समारोहमा उपस्थित भएका चौधरीले नेपाली फिल्मको सिर्जनात्मक सम्भावना र विश्वमञ्चमा यसको प्रभाव विस्तार गर्ने उद्देश्यलाई जोड दिए ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो अनुभव साझा गर्दै चौधरीले लेखे,‘कान्समा हुनु केवल उपस्थितिको कुरा मात्र थिएन, यो उद्देश्यको विषय थियो । कान्स त्यो मञ्च हो, जहाँ संस्कृति, सिर्जनशीलता र प्रभाव एकत्रित हुन्छन् । यो त्यस्तो अवसर हो, जसले हामीलाई सम्झाउँछ कि सशक्त कथाहरूले भविष्यलाई नयाँ दिशा दिन सक्छन् ।’

उनले नेपालको फिल्म क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन निरन्तर प्रयासको आवश्यकता रहेको बताउँदै नेपाली कथाहरूको मौलिकता र गहिराइलाई विश्वसामु प्रस्तुत गर्नुपर्नेमा जोड दिए । चौधरीले नेपाली फिल्मको सिर्जनात्मक क्षमता र सांस्कृतिक समृद्धिलाई विश्वमञ्चमा पुर्‍याउन पाउँदा गर्व महसुस भएको उल्लेख गरे ।

उनले थपे,‘नेपाली फिल्मले ‘दिल र उद्देश्य’का साथ सन्देश बोकेर बोल्नुपर्छ । हामीले हाम्रा कथाहरूलाई विश्वसामु उभ्याउन सक्नुपर्छ, जसले हाम्रो पहिचान र सम्भावनालाई झल्काउँछ ।’

उनको यो भनाइले नेपाली फिल्म क्षेत्रप्रति उनको प्रतिबद्धता र विश्वासलाई प्रष्ट्याउँछ । यस वर्षको कान्स फिल्म फेस्टिभलमा चौधरीसँगै नेपाली फिल्म क्षेत्रका अन्य व्यक्तित्वहरूले पनि सहभागिता जनाएका थिए । चर्चित अभिनेता प्रदीप खड्का र फिल्म ‘एक्लो’ का निर्माता प्रदीप शाहीको उपस्थितिले नेपाली फिल्मको अन्तर्राष्ट्रिय सम्भावनालाई थप बलियो बनाएको छ ।

कान्स फिल्म फेस्टिभल विश्वको सबैभन्दा प्रतिष्ठित फिल्मको मञ्चमध्ये एक हो, जहाँ हरेक वर्ष विश्वभरका फिल्मकर्मी, कलाकार र प्रभावशाली व्यक्तित्वहरू भेला हुन्छन् । यो मञ्चमा नेपाली प्रतिनिधित्वले नेपालको कला, संस्कृति र फिल्मको सम्भावनालाई विश्वसामु चिनाउने अवसर प्रदान गरेको छ ।

कमेन्ट गर्नुहोस्