समुदायमा एन्टिबडी परीक्षण हुने

देश । उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण (सेरो प्रिभिलेन्स अध्ययन) अघि बढाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

एन्टिबडी सेरोलोजिकल टेस्ट विश्वसनीय र भरपर्दो हुने भएकाले समुदायमा ठूलो समूहको परीक्षण हुने बताइएको छ । एन्टिबडी परीक्षणमा शरीरमा कोरोना भाइरस संक्रमण छ भने त्यसविरुद्ध शरीरले उत्पादन गरेको भाइरसप्रतिरोधी प्रोटिन भए/नभएको हेरिन्छ ।

सेरो प्रिभिलेन्स अध्ययनका क्रममा परीक्षण गर्दा ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) वा ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) रगतमा भए/नभएको हेरिन्छ । आईजीएम शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ । संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी निकाल्न थाल्छ ।

सामान्य रूपमा बुझ्दा शरीरमा आईजीएम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिए संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ । दुवै देखिनु भने शरीर संक्रमणमुक्त भई नसकेको अवस्था हो । सेरो प्रिभेलेन्समा आईजीजी वा आईजीएम छुट्याएर परीक्षण गरिन्न । जुनसुकै एन्टीबडी भए पनि परीक्षणमा देखिने भए रिपोर्टको नतिजा राम्रो आउने विज्ञहरू बताउँछन् । (कान्तिपुर दैनिकबाट साभार)

कमेन्ट गर्नुहोस्