‘के घर के डेरा : घर नं २’ मा दोस्रो दिन बढ्यो अकुपेन्सी

फिल्म । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा : घर नं २’ ले दोस्रो दिन शनिबार बक्स अफिसमा अघिल्लो दिनको तुलनामा बलियो बनाएको छ । पहिलो दिन औसत व्यापार गरेको फिल्मले दोस्रो दिन दर्शकको उत्साहजनक साथ पाएको हो । निर्माण पक्षका अनुसार शनिबार देशभरका अधिकांश हलमा ‘के घर के डेरा : घर नं २’ ले ७० देखि ९० प्रतिशतसम्मको अकुपेन्सी कायम गर्‍यो ।

निर्देशक दीपेन्द्र के खनालले विषयवस्तु र कलाकारहरूको जीवन्त अभिनयलाई दर्शकले मन पराएको प्रतिक्रिया दिए । उनले भने,‘हाम्रो फिल्म हेर्न दर्शक क्रमिक रुपमा बढिरहनुभएको छ, हाम्रो प्रचार नै दर्शकले गर्नुभएको छ । ‘वर्ड अफ माउथ’ ले राम्रो दर्शक पाउने अपेक्षा छ ।’

अभिनेता खगेन्द्र लामिछानेले दर्शकबाट पाएको माया र प्रतिक्रियाले आफू थप उत्साहित भएको बताए । साहित्यकार बुद्धिसागरको कथामा आधारित ‘के घर के डेरा : घर नं २’ को निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् । यसमा अभिनेता लामिछानेका साथै निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

कमेन्ट गर्नुहोस्