फिल्म । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘जार’ले भारतका विभिन्न शहरमा उत्साहजनक व्यापारिक सुरूवात गरेको छ भने नेपालमा पनि दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्मप्रति दर्शकको आकर्षण बढेसँगै भारतका मल्टिप्लेक्सहरूले शो संख्या थप गरेका छन् । यस्तै, नेपालमा पनि फिल्म हेर्ने दर्शकले कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरेका छन् ।
‘जार’ पहिलो चरणमा भारतको सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको हो । कार्यकारी निर्माता ज्योती क्षेत्रीका अनुसार, सिलिगुडीस्थित सिटी सेन्टरमा रहेको आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा वृद्धि गरेको छ भने दार्जीलिङमा पनि शो थपिएको छ । उनले दोश्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य रहेका शहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुरलगायतका स्थानमा चलचित्र प्रदर्शनको तयारी भइरहेको जानकारी दिइन् ।
नेपालमा पनि ‘जार’ले दर्शकको मन जितेको छ । निर्माण टोलीले शुक्रबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको थियो । रञ्जना सिनेमाज्, क्यूएफएक्स छायाँ सेन्टर, क्यूएफएक्स लाविङ मल लगायतका हलमा पुग्दा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीलाई दर्शकले घेरेका थिए ।
फिल्मले उठाएको कथावस्तु, पार्श्व संगीत (विजिएम), छायांकन, कलाकारहरूको अभिनय र निर्देशकीय पक्षलाई दर्शकले उत्कृष्ट भनेका छन् । समीक्षकहरूले पनि ‘जार’लाई उच्च मूल्याङ्कन प्रदान गरिरहेका छन् । निर्देशक फुर्वाछिरिङ लामा र छायांकार सरवानन इलावार्सुलाई दर्शकले प्रत्यक्ष भेटेर बधाई तथा राम्रो चलचित्रका लागि धन्यवाद दिएका छन् ।
यसै क्रममा, ठमेलस्थित छायाँ सेन्टरमा दर्शक प्रतिक्रिया लिने क्रममा निर्देशक फुर्वाछिरिङ लामालाई एक दर्शकले उपन्यास उपहार दिएका छन् । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जार’लाई उत्कृष्ट दृश्यभाषामा उतारेकोमा बधाई दिँदै ती दर्शकले नेपाली समाजको ऐतिहासिक कथा समेटिएका दुई उपन्यास उपहार दिएका हुन् ।
‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाहीसँगै भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख अभिनय रहेको छ । अखिलेश राईको सम्पादन रहेको फिल्मको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।