‘जार’ नयाँ पुस्ताका लागि इतिहासको झ्याल हो : पूर्वप्रधानमन्त्री भट्टराई

फिल्म । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर तयार भएको फिल्म ‘जार’ नयाँ पुस्ताले हेर्नैपर्ने बताएका छन् । ललितपुरको लविम मलमा आज आयोजित फिल्मको प्रिमियरमा सहभागी भएपछि उनले छायांकन, निर्देशन र कलाकारको अभिनय उत्कृष्ट रहेको टिप्पणी गरे ।

अध्यक्ष भट्टराईले भने, ‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि यो फिल्म हेर्नुपर्छ भन्ने मलाई लागेको छ ।’

उनले ‘जार’ जस्ता मौलिक चलचित्र निर्माण गर्ने निर्माता र निर्देशकलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । अभिनेता विपिन कार्कीले ‘जार’ले नेपाली फिल्मको देखिएको गन्तव्यमा एउटा इँटा थप्ने काम गरेको बताए । अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको आत्मविश्वासको प्रशंसा गरिन् ।

प्रिमियरमा सहभागी अन्य दर्शकहरुले पनि निर्देशक लामा, अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गितान्जली थापाको अभिनयको प्रशंसा गरेका थिए । सन् १८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्म वैशाख २६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।

कमेन्ट गर्नुहोस्