फिल्म । राजधानीमा पत्रकार भेटघाट गर्दै फिल्म ‘सेन्टी भाइरस’ को पहिलो हप्ता बक्सअफिसमा राम्रो कमाई सार्वजनिक गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका राजधानी र मोफसलका वितरकले शनिवारसम्मको व्यापार आँकडा सार्वजनिक गरेका छन् । वितरकको रिपोर्ट अनुसार, फिल्मको ९ दिने कमाई ४ करोडमाथि छ । फिल्मको ९ दिनसम्मको कमाई देशभर गरि ४ करोड ८ लाख ग्रस रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसमा राजधानीको २ करोड १० लाख ३ हजार र मोफसलको १ करोड ९० लाख ५ हजार रहेको वितरकले बताए ।
फिल्मका प्रमुख कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले भरतपुरमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण अभियानमा सघाउन फिल्म हेर्ने सम्पूर्ण दर्शकलाई धन्यवाद व्यक्त गरे । उनले फिल्मको आम्दानीको ५० प्रतिशत क्रिकेट रंगशालामा खर्चिने वाचा दोहोर्याउँदै हल व्यापार, डिजिटल राइट्स र ओभरसिज राइट्स मिलाएर फिल्ममा लगानी भएको २ करोड ८५ लाख उठेको बताए ।
सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्म ‘सेन्टी भाइरस’ मा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, कमलमणी नेपाललगायतका कलाकाहरुको अभिनय छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह-निर्माता फूर्पा लामा हुन् । फिल्मको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।










