‘मञ्च छुटेको हो, रंगमञ्च कहिल्यै छाडेको छैन’

फिल्म । भोजपुरको खावा गाउँबाट लाहुरे बन्ने उद्देश्यले काठमाडौं आएका दयाहाङ राई अहिले रंगमञ्च र फिल्मका परिचित अभिनेता बनिसकेका छन् । काठमाडौं आएपछि साहित्यकारसँगको संगत र साहित्यप्रतिको आकर्षणले लाहुर जाने सोचबाट टाढिएका राईले अभिनयमार्फत नेपाली फिल्ममा ‘हिरो’को परम्परागत परिभाषासमेत परिवर्तन गर्न सफल भए ।

खाइलाग्दो शरीर, अग्लो कद र सुन्दर अनुहार हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काउँदै उनले आफ्नै शैलीमा दर्शकमाझ पहिचान बनाए । ‘मेरो एउटा साथी छ’ र ‘दासढुंगा’ लगायतका फिल्ममा अभिनय गरे पनि उनलाई व्यापक रूपमा स्थापित गर्ने काम भने फिल्म ‘लूट’ ले गर्‍यो ।

‘लूट’को सफलताबारे राई भन्छन्, ‘मैले ‘लूट’मा अभिनय गर्दा त्यसअघिका दुई फिल्मसहित तीन फिल्ममा काम गरेको देखाउन चाहन्थेँ । किनकि मैले फरक किसिमका तीन पात्र पर्दामा ल्याएको थिएँ । ‘लूट’ले मलाई चिनाउँछ भन्ने आशा थियो, तर यति ठूलो सफलता दिन्छ भन्ने सोचेको थिइनँ। सायद त्यहाँ दर्शकले आफूलाई पाउनुभयो। त्यसैले फिल्म मात्र चलेन, हामी कलाकार पनि चल्यौँ।’

अभिनेता राईका अनुसार भोजपुरको माटोमा साहित्य र संगीतको छुट्टै प्रभाव छ। बाल्यकालमा आमाले सुनाउने लोककथाका पात्रले उनलाई आकर्षित गर्थे। रेडियो सुन्दै गीतसंगीतप्रति रुचि बढ्यो भने पुस्तक पढ्न थालेपछि साहित्यतर्फ आकर्षित भए । बाल्यकालमै दुई घण्टा हिँडेर फिल्म हेर्न जाने गरेको स्मरण गर्दै उनले फिल्म कसरी र किन बन्छ भन्ने कौतूहलले आफूलाई अभिनयतर्फ तानेको बताए ।

एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आईए अध्ययन गरेका उनी काठमाडौं आएपछि नाटक, साहित्य र चित्रकलाका कार्यक्रममा सहभागी हुन थाले । त्यही क्रममा नाटकघर र कलाकारसँगको संगत बढ्दै गयो ।

नाचघरमा अभिनय सिक्न पाइने थाहा पाएपछि उनी त्यहाँ पुगे । एक वर्षे अभिनय कक्षा सकिन लागेको भए पनि तत्कालीन महाप्रबन्धक हरिहर शर्मासँग आफ्नो अभिनयप्रतिको लगाव सुनाएपछि अनुभवी कलाकारका लागि आयोजना गरिएको कार्यशालामा सहभागी हुने अवसर पाए। उनले अनुप बराल र वीरेन्द्र हमालसँग अभिनय कार्यशाला लिए।

अभिनेता राईले सन् २००८ मा रंगकर्मी साथीहरूसँग मिलेर मण्डला नाटकघर स्थापना गरेका थिए । त्यसबेला नाटक गर्न तथा अभ्यास गर्न उपयुक्त ठाउँको अभाव भएपछि नाट्यकर्मी राजन खतिवडा र सृजना सुब्बासँग छलफल गरेर आफ्नै ठाउँ बनाउने सोच अघि बढेको उनले बताए ।

‘हामी अभ्यास गर्न स्कुलको बिदा कुर्नुपर्थ्यो । छलफल गर्न चियापसलमा घन्टौँ बस्नुपर्ने अवस्था थियो । हाम्रो कारणले अरूलाई पनि असर गरिरहेको महसुस हुन्थ्यो। त्यसैले एउटा ठाउँ चाहिन्छ भन्ने लाग्यो’, उनले भने।

काठमाडौंका विभिन्न ठाउँ खोज्दै अनामनगरमा ६ आना क्षेत्रफलमा मण्डला स्थापना गरिएको उनले बताए । तीन जनाबाट सुरु भएको समूह अहिले १५ जनासम्म पुगेको छ । मण्डलाले आफूहरूका लागि मात्र नभई धेरै कलाकारको सपना पूरा गर्ने ठाउँका रूपमा विकास भएको राईको भनाइ छ।

‘फिल्मको छायांकनमा पुग्दा अभिनयदेखि अन्य प्राविधिक पक्षमा पनि मण्डलाका विद्यार्थी देख्दा सन्तुष्ट हुन्छु’, उनले भने। फिल्ममा व्यस्त भएपछि रंगमञ्चमा कम देखिन थालेका राईले आफूले रंगमञ्च कहिल्यै नछाडेको स्पष्ट पारे ।

‘म कसरी रंगमञ्च छाड्न सक्छु ? मञ्च छुटेको हो, तर रंगमञ्च कहिल्यै छाडिनँ । रंगमञ्च त्यस्तो ज्ञानशाला हो, जहाँ बृहत् विद्या, कला र शिल्पको संयोजन हुन्छ’, उनले भने ।

उनले करिब ६ वर्षअघि अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘महाभोज’ मा अभिनय गरेका थिए । त्यस्तै, ‘र…माइलो’ नामक नाटकमा काम गर्दा फिल्म र नाटकको व्यस्तताका कारण स्वास्थ्यमा समेत असर परेको अनुभव उनले सुनाए । आफूले पनि निर्देशन गर्ने तयारी गरे पनि समय व्यवस्थापन गर्न नसकेपछि उपयुक्त समयमा काम गर्ने योजना रहेको उनले बताए ।

‘मानसिक र शारीरिक रूपमा स्वतन्त्र भइएन भने आफू सन्तुष्ट हुने काम गर्न सकिँदैन । काम गर्नैका लागि किन गर्ने भन्ने हो। तर, मञ्च छुटे पनि रंगमञ्च छाडेको छैन। यो मेरो घर हो। घर नफर्की कहाँ जानु र !’, उनले भने।

रंगमञ्चबाट जीविकोपार्जन गर्न सकिए पनि धेरै रंगकर्मीले आफूले चाहेजस्तो जीवनशैली पाउन नसकेको राईले बताए । उनका अनुसार नाटकलाई अझै व्यावसायिक बनाउनुपर्ने आवश्यकता छ । मण्डला सञ्चालनका लागि फिल्मबाट प्राप्त पारिश्रमिकसमेत लगानी गर्ने गरेको उनले बताए। मण्डला स्थापनासँगै फिल्म निर्माणमा समेत जोडिएका अभिनेता राईले ‘कबड्डी’ निर्माणमा सहकार्य गर्नुको कारण पनि सुनाए ।

‘लूट’को सफलतापछि दर्शकमाझ विश्वास बढेको र निर्देशक रामबाबु गुरुङसँगको भेटका क्रममा ‘कबड्डी’को अवधारणा अघि बढेको उनले बताए । निर्देशक निश्चल बस्नेतसँग पनि सहकार्य गर्ने सल्लाह भएपछि सीमित स्रोतका बीच फिल्म निर्माण गरिएको उनको भनाइ छ । ‘कबड्डी’मा उनले निर्वाह गरेको काजी पात्र निकै चर्चित भयो। एकोहोरो प्रेम गर्ने काजीको शैलीमा दर्शकले हास्य भेटेको राईले बताए ।

अभिनेता राईले कलात्मक तथा व्यावसायिक दुवैखाले फिल्ममा काम गरिरहेका छन् । उनका अनुसार व्यावसायिक फिल्ममा दर्शकको प्रिय बन्ने गरी पात्रको निर्माण गरिन्छ भने कलात्मक फिल्ममा कलाकारले तुलनात्मक रूपमा स्वतन्त्र भएर काम गर्न पाउँछन् । दर्शकले पनि मनोरञ्जनका लागि वा नयाँ विषय हेर्नका लागि फिल्म रोज्ने गरेको उनको बुझाइ छ।

अभिनेता राईले भविष्यमा फिल्म र नाटक दुवै निर्देशन गर्ने इच्छा रहेको बताएका छन् । अहिले भने अभिनय र नाटकघरको जिम्मेवारीमा व्यस्त रहेकाले निर्देशनका लागि समय छुट्याउन नसकेको उनको भनाइ छ । ‘कुनै समय अभिनयबाट विश्राम लिनुपर्‍यो भने मैले गर्ने भनेकै नाटक र फिल्म निर्देशन हो । केही पटकथा हेरिरहेको छु । तय भएपछि आफैँ जानकारी दिन्छु’, उनले भने।

‘लूट’, ‘कबड्डी’ तथा ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता फिल्म आफ्नै शैली र कथामा बनेका कारण सफल भएको उल्लेख गर्दै अभिनेता राईले अब दर्शकलाई नयाँ विषय र सिर्जनात्मकता दिनुपर्नेमा जोड दिए । ‘फिल्मको बजार हामीले देखिसकेका छौँ । राम्रो फिल्म बनाउने दायित्व हामीसँग छ’, उनले भने ।

कमेन्ट गर्नुहोस्