यस्तो बन्यो ‘द रेड सुटकेस’ पोस्टर

फिल्म । आगामी नयाँ वर्ष २०८१ को अवसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ रिलिज हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ ।

सार्वजनिक पोस्टरमा अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री सृष्टी श्रेष्ठ ग्रामिण महिलाको रुपमा देखिएकी छिन् । यस्तै सौगात मल्ल र विपिन कार्की पनि कामकाजी युवाको रुपमा छन् । यसमा पहाडी क्षेत्रको राजमार्ग (घुम्तीबाटो) लाई देखाईएको छ ।

फस्ट लुक्समा कलाकारको चरित्रलाई अथार्थरुपमा देखाउन खोजिएको छ । यो चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् ।

चलचित्रको बारे निर्देशक फिडेलले यो चलचित्रबारे भने,‘द रेड सुटकेस मध्यम तथा न्युन बर्गिय नेपाली समाजका युवाहरुको बर्तमान कथा हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलिचत्रको कथा हामीले बुनेका हौं ।’

श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल, शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन् ।

अघिल्लो चलचित्र ऐना झ्यालको पुलती निर्माण गरेका रामकृष्ण पोखरेलले द रेड सुटकेशलाई पनि ऐना झ्यालको पुतली जस्तै मौलिक कथामा तयार गरिएको बताएका छन् । यो चलचित्रलाई आरआर फिल्मसबाट रोहित-रत्नले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्