फिल्म । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा आफूले धेरैपछिसम्म सम्झिने फिल्म बनाएको निर्देशक खनालले बताए ।
‘म पहिलो भागमा अन्तिममा जडिएको थिएँ, जे लेखिएको थियो, त्यसलाई नै मिलाएर खिचे । तर, यसपटक भने म आफ्नो कामलाई वर्षौंपछि मुल्यांकन गर्न मिल्ने काम गर्न चाहन्थे, सोही अनुरुप काम गरेको छु’, निर्देशक खनालले भने ।
अभिनेता आर्यन सिग्देलले आफ्नो निर्देशक खनालसँग काम गर्ने सपना पुरा भएको बताए । ‘म निर्देशक खनालका केही फिल्मदेखि ज्यादै प्रभावित थिएँ, यसपटक सहकार्य गर्ने अवसर मिल्यो । यो पशुपति प्रसादपछि सोही किसिमको सोच्न बाध्य बनाउने फिल्म हो’, अभिनेता सिग्देलले भने ।
सार्वजनिक ट्रेलरमा घर र डेराबीच अन्तर छ । घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ । घर नै सबैथोक हो, प्रतिष्ठाको प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ । घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ । घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाउने काम निर्देशकले गरेका छन् ।
‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो फिल्म हो । यसमा आर्यनसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी,श्रीजना नापित लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको छायांकन रहेको ‘के घर के डेरा : घर नं २’ को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।










