प्रिमियरमा ‘खुस्मा’ लाई तारिफ

फिल्म । संविधान दिवसको अवसर पारेर असोज ३ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’ लाई प्रिमियरमा रुचाइएको छ । हालै काठमाडौँमा गरिएको प्रिमियरमा मगर समुदायको नृत्य र बाजागाजाले रोमाञ्चकता थपेको थियो । फिल्मका शीर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी मगर पहिरनमा उपस्थित थिए ।

द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित रहेको फिल्मले प्रिमियरमा राम्रो तारिफ पाएको छ । नेतादेखि सेलिब्रेटीहरुको उल्लेख्य उपस्थिति रहेको प्रिमियरमा अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको खुलेर प्रशंसा गरेका थिए । प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट उत्साहित देखिएका धीरज ‘खुस्मा’लाई आम नेपालीको कथा भन्न रुचाउँछन् ।

अशोक थापा मगरको निर्देशनमा तयार भएको फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो । यसको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । यसमा दिपक बज्राचार्यको छायांकन रहेको छ । फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्