फिल्म । केही दिन अगाडि सार्वजनिक गरिएको गीत ‘मञ्जुरी’ अहिले चर्चामा छ । साउन १८ गते प्रदर्शन हुने फिल्म ‘मोदिबेनी’ मा समावेश गीतमा वर्षा सिवाकोटीसँग नव अभिनेता अमरप्रताप श्रेष्ठ फिचर्ड छन् । कर्णप्रिय गीतको भिडियोलाई उत्तिकै सुन्दर रुपमा कोरियोग्राफर किरण थापाले तयार गरेका हुन् । सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, र युट्युबमा यो गीतको क्लिपबाट बनाइएका थुप्रै सामग्रीहरू भाइरल छन् ।
गीतको शब्द, सङ्गीत, र अभिनयको सङ्गमले दर्शकको मन जितिरहेको छ भने यसको कोरियोग्राफीको जादु पनि कम छैन । किरणलाई सुरुमा नै यस गीतका शब्दले अत्यन्तै प्रभावित बनाएको रहेछ । ‘गीतको शब्दले मलाई एकदम आकर्षित गरेको थियो । शब्दले एउटा कथा बुनिरहेको थियो, जसलाई दृश्य भाषामा उतार्न पाउँदा उत्साहित छु’, किरणले भने ।
गीत सुन्नासाथ विभिन्न रङ्गहरूको माग गरिरहेको महसुस उनलाई थियो । त्यहिकारण उनले गीतलाई कलरफुल बनाउने तयारी गरे । उनले फिल्मकै परिवेशलाई मिलाएर दृश्य भाषा निर्माण गरे ।
‘भिडियोको हुकस्टेपलाई सामान्य रूपमा नृत्य गर्दा आफ्नो भावलाई व्यक्त गर्न सक्ने गरी बनाएको छु । यसमा प्रयोग भएका विभिन्न प्रप्सहरू र प्राकृतिक सौन्दर्यले दुई कलाकारको केमेस्ट्रीलाई वर्णन गर्छन्’, उनले भने । उनले सोचेको भावलाई गीतमा फिचर्ड कलाकारद्वय वर्षा र अमरले व्यक्त गरेका छन् ।गीतको छायाङ्कनको क्रममा अनेकौँ प्राविधिक चुनौतीहरू पनि आएका रहेछन् ।
‘हामीले एउटा पुलमा छायाङ्कन गर्ने सोच बनाएका थियौँ । त्यही समयमा अविरल वर्षा भयो, पुल पानीले डुबायो, छायाङ्कन गर्न सकिएन् । पहाडको टुप्पोमा छायाङ्कन गर्नुपर्ने थियो, जहाँ प्राविधिक सामग्रीहरू पुर्याउनु आफैमा चुनौती थियो । तर प्राविधिक टिम र कलाकारहरूको साथले सबै समस्यालाई पन्छाएर काम सम्पन्न भयो’, किरणले भने ।
उनले गीतको सफलताका लागि आवद्ध सम्पूर्ण टीम सदस्यलाई धन्यवाद दिए । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर तयार गरिएको फिल्मका निर्देशक शङ्कर कोइराला हुन् । फिल्ममा अमर र वर्षासँगै प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।