फिल्म । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही आगामी जेठ ३ गते नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउन लागेकी हुन् ।
आज सुकेधारास्थित मर्क्युर होटलमा आयोजित पत्रकार सम्मेलनमा वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले अभिनेत्री फतेहीको नेपाल भ्रमणको जानकारी दिए । उनले मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको बताए । मगरले नेपालमा नोरा फतेहीको लोकप्रियता देखेर कार्यक्रमका लागि गरिएको अनुरोधलाई उनले स्वीकार गरेको जानकारी दिए । कार्यक्रममा नेपाली कलाकारहरूले पनि नोरा फतेहीसँगै स्टेज साझेदारी गर्नेछन् ।
आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले पत्रकार सम्मेलनमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिस्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेले पनि कार्यक्रममा प्रस्तुति दिने जानकारी दिए।
कार्यक्रममा प्रस्तुति दिने तयारीमा रहेकी नृत्याङ्गना तेरिया फौजा मगरले नोरा फतेही विश्वभर चर्चित रहेकाले उनीसँग कार्यक्रम गर्न पाउनु नेपाली कलाकारका लागि खुसीको कुरा भएको बताइन् । यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।
यो च्यारिटी कार्यक्रम आगामी वर्ष २०८२ जेठ ३ गते (मे १७, २०२५) मा बौद्धस्थित हायात होटलको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा आयोजना हुनेछ । नोरा फतेहीले एक भिडियो सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउन र नेपाली दर्शकलाई भेट्न उत्साहित रहेको बताएकी छन्। उनले नेपालबाट प्राप्त मायाका लागि धन्यवाद दिँदै आफ्नो प्रस्तुति दिन आतुर रहेको बताएकी छन् ।
जेठ ३ गतेको कार्यक्रमका लागि खल्ती एपमार्फत २ हजार, ४ हजार, ७ हजार र १६ हजार रुपैयाँका टिकटहरू खरिद गर्न सकिनेछ । आयोजकका अनुसार कार्यक्रममा नोरा फतेही र गायक दुर्गेश थापाले ‘दुश्मन हेरेको हेरै’ बोलको गीतमा सँगै प्रस्तुति दिने भएकाले कार्यक्रम थप आकर्षक हुनेछ । ओसिन सिटौलाले सञ्चालन गर्ने कार्यक्रमको गेट दिउँसो ३ बजेदेखि नै दर्शकका लागि खुला गरिनेछ ।
अभिनेत्री नोरा फतेहीका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत नेपालमा पनि निकै लोकप्रिय छन् ।







