गीतका कारण ‘नरसिंहा अवतार’ प्रति बढ्यो दर्शकको आकर्षण

फिल्म । आउँदो जेठ ९ मा प्रदर्शन हुने फिल्म ‘नरसिंहा अवतार’ बाट अभिनेता राजेश हमाल कम्ब्याक गर्दैछन् । अर्थात् उनी आठ वर्षपछि ठूलो पर्दामा देखिनेछन् । फिल्मको पोस्टर र गीत सार्वजनिक गरिएको छ । री-क्रिएट गरिएको गीत ‘अच्छा लेकिन लन्डन’ लोकप्रिय भईसकेको छ । युट्युबसँगै सामाजिक सञ्जालमा यसको रिल्स र विभिन्न भिडियो देख्न थालिएको छ ।

यसले पनि फिल्म प्रति दर्शक उत्साहित रहेको झल्को दिएको छ । पुरानो फिल्म ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीतको रिक्रिएट गरिएको भर्सनलाई पनि दर्शकले रुचाएका छन् । फिल्म ‘नरसिंहाः अवतार’ मा समावेश गीतलाई १२ दिनमा ३४ लाख पटक हेरिएको छ ।

यसले पनि गीतको लोकप्रियता कायम रहेको प्रस्ट्याएको छ । यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिक्रिएट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । गीतमा शम्भुजितकै शब्द तथा संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् । गीतको भिडियोको सम्पादन साहिल खानले गरेका हुन् ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य छ । गीतको भिडियोलाई कविराजले गज्जबसँग कोरियोग्राफी गरेका छन् । भिडियोमा सबै कलाकारहरुको नृत्य उत्कृष्ट छ ।

फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ । चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्ममा क्रियटिभ सिने आर्टस्को लागि नेम महर्जनको लगानी छ । साथै, फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ ।

व्यावसायिक पृष्ठभूमिबाट आएका निर्माता न्यौपानेले ‘नरसिंहा अवतार’ ले राम्रो गर्छ भन्नेमा ढुक्क रहेको बताएका छन् । ‘म निर्माता मात्रै होइन, मेरो फिल्म करियरको दोस्रो इनिङमा राम्रो प्रोडक्सन हाउस सञ्चालन गर्ने योजना पनि लिएर आएको छु । लाइट ल्याइसकेको छु, क्यामरा आउँदैछन्,’ उनले भने।

कमेन्ट गर्नुहोस्