फिल्म । निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘मायावी’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअगाडि घोषणा गरिएको तिहार र माघेसंक्रान्ति पश्चात यो आउँदो महाशिवरात्रिको अवसर पारेर फागुनको १४ गतेबाट प्रदर्शन गर्ने घोषणा गरिएको छ । फिल्मको निर्माणपक्षले यो फिल्मको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।
फिल्मको पोष्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाँई रोमान्टिक देखिएका छन् । साथमा, पललाई भावुक पनि देख्न पाइन्छ । फिल्ममा सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, समिम खान लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा दिवाकर भट्टराइको कथा तथा लेखन पनि छ ।
फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको निर्माताको रुपमा छन् । फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली, सुमित ओली सह–निर्माता, प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् ।












