हल बन्द हुने, २५ जना बढी मानिस भेला हुन नपाउने

फिल्म । गत वर्ष चीनको वुहानबाट निस्किएको भनिएको कोरोना भाइरस अहिले विश्वकै समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा घोषणा गरेपछि झनै यसको त्रास बढ्दो छ । यसको असर मनोरंजन क्षेत्रमा पनि उत्तिकै परेको छ । यसै सन्दर्भमा नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउदै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागतयका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो ।

बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ । बैठकले रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै, अत्यावश्यक काम बाहेक आवतजावत, हिडडुल नगर्न समेत आग्रह गरेको छ । समितिले साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला नहुन समेत भनेको छ । यसको अनुगमन पनि गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्ने भएको छ। यसको कार्यान्वयनको प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने छन् ।

कमेन्ट गर्नुहोस्