फिल्म । साहित्यकार इन्द्र बहादुर राईको कथामा आधारित फिल्म ‘जार’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘ए ठूली’ बोलको गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर रहेको छ भने गीतमा शब्द हर्क साउदको छ । संगीत झुमा लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित छ ।
लोकलयमा आधारित गीतले प्रेमको कुरा गर्छ । प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतिक्षा उल्लेख छ । सुन्दर परिकल्पना गर्दै प्रेमिको पखाईमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको कथा गीतले भनेको छ ।
गीतले सिनेमाले लाहुरेको कथा भन्ने प्रष्ट पारेको छ । ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत कलाकार फिचर्ड छन् । भिडियोले स्थानीय ग्रामीण जनजीवन चित्रण गरेको छ ।
कथाकार राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २ सय २५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाले बताएका छन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।
यसमा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।
यसको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ ।