चलचित्रका लागि सुखद दसैँ

फिल्म । नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । यो समयमा प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्‍याउन निर्माता लागिपर्ने गरेका छन् । दसैँ लक्षित प्रदर्शन गरिएका दुई चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’ ले राम्रो व्यापार गरेको छ । दसैँका विदामा दुवै चलचित्र हेर्न हलमा दर्शकको भिडभाड देखियो ।

फूलपातीदेखि पुर्णिमासम्मको बिदामा यी चलचित्रले गरेको व्यापार अन्यसमयको बढी छ । ‘अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौं र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पाईयो । यस्तो समयमा विशेषत पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्’, वितरक करण श्रेष्ठले भने ।

ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा आकर्षण बढेपछि चलचित्र भवनमा दर्शकको सङ्ख्या घट्ने अनुमान गरिएको थियो । तर अहिले दर्शकको आकर्षण पुनः चलचित्र भवनमा बढेको छ ।

‘पशुपति प्रसाद २ : भष्मे डन’ लाई खगेन्द्र लामिछानेले लेख्नुका साथै निर्माण गरेका हुन् । दीपेन्द्र कुमार खनालको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । यसको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको चलचित्रका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।

‘परदेशी २’ नारायण रायमाझीको निर्देशनमा तयार भएको हो । उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको चलचित्रमा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर यसलाई निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्