कस्तो छ मल्टीस्टारर ‘महाभोज’ टिजर ?

फिल्म । मल्टीस्टारर ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ ।

टिजरमा अभिनेताद्वय खगेन्द्र लामिछानेले र दयाहाङ राई संवादहरू चोटिला छन् । सहकारी संस्थाको अध्यक्षको रूपमा रहेका अभिनेता राईलाई कहिले खुसी, कहिले आक्रोशित अवस्थामा देखाइएको छ । उनी कसैको घरमा खुकुरी लिएर प्रवेश गरेको दृश्य र मोटरसाइकल जलिरहेको दृश्यले कथाको तनावपूर्ण मोड देखाउँछ । अभिनेत्री गौमाया गुरुङ, जो दयाहाङकी पत्नीको भूमिकामा छिन्, पतिको आक्रोश शान्त पार्ने प्रयासमा देखिन्छिन् ।

यसमा खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति-पत्नीको रूपमा देखाइएको छ, जसले पैसाको समस्याका कारण पारिवारिक तनाव खेपिरहेका छन् । अभिनेत्री मलिका महत एक रहस्यमय भूमिकामा छिन्, जहाँ उनले प्रहरीसँग आफू निर्दोष भएको बयान दिइरहेकी छन् । अभिनेता आर्यन सिग्देललाई गाउँपालिका अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ, जसले राजनीतिक तहसम्म चलचित्रको सन्दर्भलाई विस्तार गरेको देखिन्छ ।

गणतन्त्र दिवसको मौका छोपी बिहीबार नै रिलिज हुन लागेको ‘महाभोज’ को निर्देशन दिनेश राउतले गरेका हुन् । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको निर्माता हिमाल कडरिया हुन् । कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्