फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली फिल्म ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म आउँदो सातादेखि अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा एकसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
अस्ट्रेलियामा रिलिजको टुङ्गो लगभग अन्तिम चरणमा रहेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए । साथै, बेलायतमा यसको उच्च माग रहेको र क्रमशः सबै सहरमा रिलिज गरिने उनले बताए । यस वर्षको फागु पूर्णिमाको दिन फागुन २९ गते नेपालमा प्रदर्शन भएको यसले नेपालमा सुपरहिट भएपश्चात् नेपालीहरूको बाहुल्य रहेका विभिन्न मुलुकहरूमा रिलिज हुन लागेको हो । ‘अञ्जिला’ले समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनुका साथै उल्लेखनीय व्यापार गरेपछि विदेशबाट माग भएको थियो । विदेश रिलिज मार्च २९ बाट हुने जनाइएको छ ।
अमेरिकामा सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीले रिलिज गर्नेछन् भने क्यानडामा आगन इभेन्ट्स तथा आइ र यु इन्टरटेनमेन्टले रिलिज गर्दैछन् । त्यस्तै, जापानमा युएनए इन्टरटेनमेन्ट, फिनल्यान्डमा मामा इभेन्ट, मध्यपूर्वका देशहरूमा साथीभाइ इन्टरटेनमेन्ट, माल्टामा मगवर्ट प्रोडक्सनले रिलिज गर्दैछन् ।
‘अञ्जिला’का निर्देशक मिलन चाम्सले दिनानुदिन शो सङ्ख्यासँगै दर्शक पनि बढिरहेको बताए । कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी कप्तान सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
यसमा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा कप्तान सुब्बा आफैले अभिनय गरेकी छिन् । माओत्से गुरुङ र दयाहाङ राईले उनको बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।












