फिल्म । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ । भोटेकोशी बाढीपछिको असहज परिस्थितिलाई ध्यानमा राख्दै निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रालिले भदौ २६ गते फिल्म प्रदर्शन नगर्ने जनाएको हो।
निर्माण पक्षले मुलुकको विद्यमान प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै दुःख र पीडाको घडीमा फिल्म प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ।
निर्माताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको विद्यमान प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै, यो पीडा र दुःखको घडीमा फिल्म प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले हाम्रो टोली यस निर्णयमा पुगेका हौँ।’
अब फिल्म तिहारको अवसर पारेर कात्तिक २० गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ। निर्माता दिल श्रेष्ठले विज्ञप्तिमार्फत देश दुःखी रहेको अवस्थामा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानेर प्रदर्शन मिति सारिएको बताएका छन्।











