सङ्गीत । गायक सज्जनराज वैद्य र उनको ब्याण्डले देशको वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै देश तथा विदेशका सबै सांगीतिक टुरहरू स्थगित गर्ने घोषणा गरेका छन् । शुक्रबार जारी गरेको विज्ञप्तिमा गायक वैद्यले सेप्टेम्बर र अक्टोबर महिनाका सबै सांगीतिक टुरहरू स्थगित गरिएको जानकारी दिएका छन् । नोभेम्बर १ मा हङकङबाट टुरहरूको पुनः थालनी गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू तथा देशको हितका लागि खटिएकाहरूलाई सम्मान गर्दै आफूहरूले तत्कालका लागि सबै सांगीतिक गतिविधिहरू रोकेको गायक वैद्यले बताएका छन् । जेनजी आन्दोलनले देशमा उत्पन्न भएको तनावपूर्ण अवस्थाले धेरैलाई स्तब्ध बनाएको छ, जसमा दर्जनौं युवा र विद्यार्थीहरूले ज्यान गुमाएका थिए।यसैगरी, मुलुकको निर्माणमा सहयोग गर्न समेत गायक वैद्यले सबैलाई आग्रह गरेका छन् ।








