‘कर्मा’ ले आमा पात्र प्रतिको सोच बदल्ने सरिताको दावी

फिल्म । अभिनेत्री सरिता गिरीले केही दिन अगाडि आफूले फिल्म ‘कर्मा’ आमाको भूमिका निर्वाह गरेको बताएकी थिइन् । उनले फिल्ममा कसको आमाको भूमिका भन्ने नप्रस्ट्याए पनि अभिनेता विपिन कार्कीको आमाको भूमिकामा रहेको अनुमान उपस्थितले लगाए । थियटर हुँदै फिल्ममा अभिनय गरिरहेकी सरिताको अभिनय क्षमतालाई फिल्मकर्मीले चिन्न नसकेको चर्चाकै बीच आमाको भूमिकालाई लिएर नयाँ स्टेटमेन्ट दिएकी छिन् ।

फिल्म ‘कर्मा’ को प्रचारमा जुट्दै सरिताले आफ्नो पात्रले आमा बारे निर्माण भएको भाष्यलाई परिवर्तन गर्ने दावी गरेकी छिन् । ‘अहिले आमाको पात्रलाई हामीले जसरी बुझेका छौँ, जुन इमेज हामीले मष्तिस्कमा निर्माण गर्छौँ, त्यसलाई मैले कर्मामा निर्वाह गरेको पात्रले बिर्साउने छ । मेरो पात्रले नयाँ भाष्य बनाउनेमा म विश्वस्त छु’, उनले भनिन् ।

उनले आमाको पात्रलाई सामान्य रुपमा बुझ्ने गरेको गुनासो गरेकी छिन् । यद्यपि सरिताले निर्देशक सौरभ चौधरीको प्रस्ताव नै अन्य भन्दा फरक रहेकाले आफुले स्वीकारेको बताइन । ‘निर्देशकले मलाई आमा नभई त्यसलाई जीवन भर्ने पात्र चाहिएको हो भनेपछि म इम्प्रेस भएकी थिएँ । मेरा अघिल्ला भन्दा बिल्कुलै फरक चरित्र यसमा दर्शकले देख्न पाउनु हुनेछ’, उनले भनिन् ।

‘कर्मा’मा सरितासँगै विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ । नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ मा फिल्म ‘कर्मा’ नेपालसँगै डायस्पोरामा एकसाथ प्रदर्शन हुँदैछ । ड्रामा, सस्पेन्स र एक्सन मिश्रित फिल्मलाई निर्देशक चौधरीले नै लेखेका हुन् । फिल्मलाई डायस्पोरामा सेभेन सिज सिनेमाले वितरण गर्नेछ ।

फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन, समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको रङ्ग संयोजन रहेको छ ।आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको फिल्म ‘कर्मा’ का निर्माता वसन्त लम्साल हुन् ।

कमेन्ट गर्नुहोस्