फिल्म । नेपालमा एक्सन विधामा तयार भएका फिल्म पछिल्लो समय दर्शक माँझ आइरहेका छन् । गत दसैँमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ सफल भएपछि एक्सन विधालाई रोज्ने निर्माता तथा निर्देशकको कमि छैन । तर, दुई वर्ष अगाडि नै निरन्तर विधा भन्दा फरक गर्ने कोसिसले तयार गरिएको फिल्म ‘आउट लः दफा २१९’ गत फागुन २९ देखि प्रदर्शनरत छ ।
एक्सन विधाको फिल्ममा संविधानमा रहेको दफा २ सय १९ सँग सम्बन्धित रहेको कथा तयार गरिएको छ । दक्षिण भारतमा बन्ने फिल्म हेरिरहेका दर्शकलाई आफूतर्फ आकर्षित गर्नु नै एक्सन विधामा फिल्म बनाउनेका लागि चुनौती हो ।
अभिनेता सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान, द्वन्द्व निर्देशक चुल्ठे काजी र श्री श्रेष्ठले गरेको प्रयासले ‘आउट ल : दफा २१९’ लाई हल पुगेर हेर्नेले रुचाएका छन् । फिल्म हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे । शुक्रबार फिल्म युनिटले आयोजना गरेको विशेष शो हेरेपछि अधिकाँसले यसको मेकिङको चर्चा गरे । अभिनेता श्रेष्ठले द्वन्द्वमा गरेको काम, साहिलले गरेको सम्पादन, नवीन गुरुङको छायांकनको तारिफ भयो ।
विशेषत अभिनेता श्रेष्ठले विगत चार वर्षदेखि दर्शकसँग भेटघाट गरेका थिएनन् । उनको यो एक्सन अवतारलाई दर्शकसँगै फिल्मकर्मीले पनि प्रसंशा गरेका छन् । अभिनेता श्रेष्ठ आउँदो समयमा एक्सन फिल्म बनाउनेको रोजाईमा पर्न सक्छन ।
उनले भने,‘मैले ४ वर्ष एउटा उत्कृष्ट फिल्ममा काम गर्छु भनेर नै अफर आएका थुप्रै फिल्म छाडेको हुँ । आज दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु ।’ फिल्मका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरुले गरेको मिहिनेतमा दर्शकहरुले साथ दिएको भन्दै खुशी व्यक्त गरे ।