बालेनले हेरे ‘लाज शरणम्’

फिल्म । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपाली फिल्म ‘लाज शरणम्’ हेरेका छन् । फिल्मका लागि आफ्नो गीत समेत उपलब्ध गराएका बालेनले फिल्म हेरेपछि सिताराम कट्टेल (धुर्मुस) को अभिनय मन पराएको निर्माण पक्षले जानकारी गराएका छन् ।

निर्माण पक्षले दिएको जानकारी अनुसार बालेनले सोमबार साँझ दरबारमार्गस्थित एक हलमा फिल्म हेरेपछि आफ्नो संक्षिप्त प्रतिक्रिया दिएका हुन् । ‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो । एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो’, बालेनको भनाइ उदृद गर्दै निर्माण पक्षले जनाएका छन् ।

फिल्मका लागि बालेनले ‘नेपाल हाँसेको’ गीत उपलब्ध गराएका थिए । कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ मा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

कमेन्ट गर्नुहोस्