प्याराडाइज फिल्म फेस्टिभलमा ‘द्रौपदी’

फिल्म । केही समय यता नेपाली फिल्म विश्वका प्रसिद्ध महोत्सवमा आफूलाई अब्बल सावित गरिरहेको छ । यसै क्रममा नेपाली फिल्म ‘द्रौपदी’ युरोपियन मुलुक जर्मनीको ‘प्याराडाइज फिल्म फेस्टिभल छनोट’ भएको छ ।

यही मार्चमा आयोजना हुने फेस्टिभलमा फिल्मको प्रदर्शन हुने लेखक तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए । कर्णालीमा छायांकन भएको फिल्म अझै धेरै फेस्टिभलमा पठाउने तयारी भइरहेको आचार्यले सुनाए ।

‘नेपालको कथा र कर्णालीको सुन्दरता देखाईएकोले यसलाई हामीले विभिन्न फिल्म महोत्सवमा पुर्याउने कोसिस गरिरहेका छौँ । यो सुरुआत हो, हाम्रो यात्रा धेरै लामो छ’, निर्देशक आचार्यले भने ।

डोल्पाको शेफोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भएको फिल्म हो । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।

फिल्ममा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन आचार्यको रहेको छ । फिल्मको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुवास ठडराई यो फिल्मका सहनिर्माता हुन् । आरबी मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।

कमेन्ट गर्नुहोस्