‘लाज शरणम्’ का लागि सितारामको मेहनत कति काम लाग्यो ?

फिल्म । गत फागुन १४ गतदेखि शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘लाज शरणम्’ व्यावसायिक रुपमा अगाडि छ । ‘मेरी बासै’ मार्फत दर्शक माँझ धुर्मुसका उपनामले परिचित सिताराम कट्टेलसँगै ‘सक्किगोनी’ टेलीसिरियल निर्माण समूहको फिल्म भएकाले ‘लाज शरणम्’ फिल्मे व्यसायिक रुपमा फड्को मार्ने अपेक्षा गरिएको थियो । तथापी यसले अपेक्षा अनुरुप व्यापार भने गर्न सकेन ।

यद्यपि ‘लाज शरणम्’ मा अभिनेता कट्टेलले निर्वाह गरेको भूमिका चर्चामा रह्यो । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री अफताव आलमसँग चरित्र मिल्दो देखिएपछि अदालतमा नै मुद्दा पर्यो । ‘लाज शरणम्’ का लागि अभिनेता कट्टेलले आफ्नो तौल बढाएर सोनेलालका लागि तयार भएका हुन् । निर्माण टिमले जारी गरेको प्रेस नोटमा फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेलले स्क्रीप्ट तयार पाएपछि सितारामलाई उक्त पात्र गर्न प्रस्ताव गरेका थिए ।

‘सोनेलाललाई जीवन्त बनाउन शरीरको तौल बढाउनुका साथै फरक देखिन सिताराम डेन्टल क्लिनिक पुगेर दाँत बनाए । मेकअप आर्टिस्टसँग चरित्र बारे छलफल गरेर उनले मुहारको बनोटमा फरकपना ल्याउन प्रयास गरे । चरित्र निर्माण गर्दा नै उनले विभिन्न कठिनाई भोगेको छन्’, प्रेस नोटमा लेखिएको छ ।

‘उहाँको स्केच लिएर मास्क बनाउने क्रममा टाउकोमा केमिकल लागेपछि कपाल नै गयो । त्यसपछि डाक्टरसँग छलफल गर्दा पनि कपाल आउन समय लाग्ने भएपछि बीचमा तालु र साइड साइडमा कपाल भएको नयाँ लुक्स ट्राइ गरियो । त्यहि अनुसार शरीरको तौल बधाउएर एउटा पात्र गर्ने सहमति भयो’, निर्देशक कट्टेलले भने ।

मोटोपनका कारणले विभिन्न रोगको सामना गरिरहेका सितारामले डाक्टरबाट शरीरमा परिवर्तन ल्याउनु पर्ने पात्र नगर्न सुझाव समेत पाएका थिए । तर, उनले ‘लाज शरणम्’ का लागि जोखिम लिने निर्णय लिएको निर्माण पक्षले प्रेस नोटमार्फत जनाएको छ । छायांकन नजिकिदै गर्दा मोटोपनाका कारण आउने रोग देखिएपछि सितारामले फिल्म गर्ने वा नगर्ने अलमल गरिरहे । सोही पात्रका लागि बलिउड अभिनेता गोविन्दादेखि नेपाली केही कलाकारसँग कुरा गरेता पनि कार्य व्यस्तताका कारण अन्यसँग सहकार्य नभएको निर्देशक कट्टेलले बताएका छन् ।

‘अन्य कलाकारले समेत उक्त भूमिका निर्वाह गर्न रुचि नदेखाएपछि सितारामले नै गर्ने निर्णय लिएँ । तर, मोटोपनाका कारण उनको शारीरिक सन्तुलन समेत बिग्रिएको थियो । हामीले निर्धारित समयमा छायांकन गर्न नसकेपछि उहाँ श्रीमतीसहित युरोपको कार्यक्रममा निस्किनु भयो । उहाँ विदेशमै रहदा मेकअप आर्टिस्टसँग छलफल गरेर भारतबाट समान ल्याएर काम गरिरहेका थियौँ । नेपाल आए लगत्तै लुकटेस्ट गरेर हामी डोल्पा पुगेका थियौँ’, निर्देशक कट्टेलको भन्दै उदृत गर्दै प्रेस नोटमा लेखिएको छ ।

निर्माण पक्षका अनुसार हाई अल्टिच्युट र शरीरको तौल धेरै भएको कारण सितारामलाई छायांकन गर्न समेत कठिन हुन्थ्यो । त्यहि कठिनाईले छायांकन सकेर सिताराम काठमाडौँ फर्किएपछि समस्या निम्त्याउन थाल्यो । निर्माण पक्षका अनुसार सितारामले उपचार गराउदै आफ्नो पात्रको छायांकन सकेका थिए । डाक्टरको निगरानी र उपचारले उनलाई सामान्य जीवनमा फर्काएको थियो ।

सितारामले पात्रको लागि गरेको मेहनतलाई केही दर्शकले रुचाएका छन् भने केहीले लाउड भनेर टिप्पणी गरेका छन् । यद्यपि ‘लाज शरणम्’ मार्फत महेश त्रिपाठीले निर्वाह गरेको भूमिकाको चर्चा समीक्षकसँगै दर्शकले पनि गरेका छन् । कलाकार त्रिपाठीको अन्य फिल्ममा समेत देखिएको विविधता र पात्रलाई जीवन्त बनाउन गरेको मेहनतको चर्चा अहिले सामजिक सञ्जालमा बढ्न थालेको छ ।

कमेन्ट गर्नुहोस्