फिल्म । महाशिवरात्रीलाई लक्षित गर्दै बुधबारदेखि प्रदर्शन हुने फिल्म ‘मायावी’ को भव्य प्रिमियर गरिएको छ । सोमबार साँझ कीर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा आयोजित प्रिमियरमा फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । अभिनेता राजेश हमालको उपस्थितिले प्रिमियरमा रौनकता थपेको ‘मायावी’ ले प्रिमियरमार्फत सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।
फिल्म हेर्न आइपुगेका अधिकाँस फिल्मकर्मीले यसलाई राम्रो प्रेमकथानक भनेका छन् । प्रेम कथालाई पर्दामा ल्याउन माहिर मानिने निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मले पहिलो दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । केन्द्रीय चलचित्र जाँच समितीले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको फिल्मलाई स-परिवार सबैले हेर्न पाउनेछन् ।
फिल्मको ट्रेलरले दर्शकको मन जितिसकेको छ । लभ स्टोरी कथामा बनेको फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव-नायक समीम खानको मुख्य भूमिका छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्दैछ ।











