दर्शकले ब्राण्ड बनाएको ‘रेशम फिलिली’ : सुपुष्पा

फिल्म । डेब्यु फिल्म ‘रणवीर’ मार्फत नै नोटिस भएकी अभिनेत्री सुपुष्पा भट्ट फिल्म ‘फेरि रेशम फिलिली’ मार्फत चर्चामा छिन् । सिनेमा आर्टको ब्यानरमा निर्माण भएको फिल्ममा उनले लिड भूमिका निर्वाह गरेकी छिन् । निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन्। त्यसैले उनले अरूलाई खोज्ने कष्ट गरेनन् । यो सिक्वेलमा लगभग पहिलो श्रृंखलाका सबै कलाकार छन् । लिडिङ महिला पात्रमा नयाँ अनुहार बनेर आएकी सुपुष्पा दर्शकले फिल्ममार्फत भरपुर मनोरञ्जन पाउनेमा विश्वस्त रहन आग्रह गर्छिन्।

‘मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु । त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ । अझ मेहनत गर्न सक्थे जस्तोचाहिँ लागेको छ । तर, मैले निर्देशकको आदेश अनुसार नै आफूलाई प्रस्तुत गरेकी छु’, उनले भनिन् ।

अभिनेत्री भट्टले स्क्रीप्ट राम्रो होस् र त्यसले राम्रो परिदृश्य दिओस भन्ने आफ्नो चाहन रहने बताइन । ‘फेरि रेशम फिलिली’ त्यस्तै फिल्म भइदिएको उनले महसुस गरिन् । उनले गरेको पात्र ‘च्यालेन्जिङ’ भएको उनको भनाइ छ । त्यही कारण उनलाई दर्शकले यसलाई कुन रूपमा अपनाउने हुन् भन्ने चिन्ता भइरहेको छ ।

‘दर्शकले स्टार बनाएको ब्राण्डमा काम गर्न पाउनु मेरा लागि अवसरसँगै चुनौती थियो । तर, त्यसलाई मैले सक्दो उपयोग गरें जस्तो लागेको छ । मैले मेहनतमा कम गरेको छुइन् किनकि यो दर्शकले ब्राण्ड बनाएको सिरिज हो’, उनले भनिन् ।

महाशिवरात्रिको अवसर पारेर फागुन १४ मा प्रदर्शन हुने फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा रहेको छ ।

सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । यसको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्