फिल्म । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ को नेपाल प्रदर्शन आगामी फागुन २९ मा हुँदैछ । सामान्य खेलाडी हुँदै देशकै कप्तान बन्ने जीवन सङ्घर्षसँगै प्रेरणादायी रहेकाले फिल्ममा ल्याईएको कप्तानसुब्बाका धर्मपिता समेत रहेका निर्माता प्रेमकुमार श्रेष्ठले बताए ।
उनले भने,’मैले अञ्जिलालाई सुरुआती दिन देखि नै देखेको छु । उनको लगनशीलताले अन्यलाई पनि प्रेरणा दिन्छ । उनी जुन स्थानबाट कप्तानसम्मको यात्रा तय गरेकी छिन्, त्यो मेहनत र सङ्घर्षकै उपज हो । त्यसकारण यो कथालाई फिल्ममार्फत धेरैसम्म पुर्याउनु पर्छ भन्ने लगेर फिल्म बनाएका हौँ ।’
उनले अञ्जिलालाई काठमाडौँ ल्याएर खेलाडी बन्ने सपना पुरा गर्न मदत गरेका हुन् । निर्माता श्रेष्ठ फिल्म निर्माणसँगै कप्तान सुब्बाको घर निर्माणमा गर्ने उदेश्य रहेको बताए ।
‘उनको घर निर्माण गर्ने मेरो इच्छा छिटै पुरा हुनेमा विश्वस्त छु । हामीले नेपाल प्रदर्शन अगाडि हङकङ र बेलायतमा प्रदर्शन गरिसकेका छौँ । अन्य देशमा समेत कुराकानी भइरहेको छ, ती देशबाट घर निर्माणमा राम्रो सहयोग प्राप्त भएको छ । म एक्लैले आटेको कार्यमा धेरै हात जोडिएका छन्, त्यसकारण घर बन्नेमा दुईमत रहेन’, निर्माता श्रेष्ठले भने ।
उनले फिल्म कप्तान सुब्बाको जीवनीमा आधारित भएता पनि पूर्ण मनोरञ्जनात्मक रहेको बताए । यसलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले भने,‘कप्तान सुब्बा आफैँले अभिनय गर्नुभएको कारण यो उहाँका शुभचिन्तकका लागि खास छ । यो फिल्मले अन्य खेलाडीको कथालाई अगाडि ल्याउन उर्जा दिन्छ ।’
उनले ‘अञ्जिलाको आफ्नै घर’ अभियान अन्तर्गत मङ्सिरमा हङकङ र फागुनमा बेलायतमा प्रिमियर गरिएको जानकारी दिए । नेपालमा खेलकुदमा जीवन समर्पण गरेकाको कथालाई फिल्मसम्म ल्याउन प्रेरणा दिने भएकाले आफूले कप्तान सुब्बाको जीवनीमा चलचित्र निर्माण गरेको उनले बताए । फिल्ममा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको आफ्नो जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को बेलायत प्रिमियर हुने भएको छ । कप्तान सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित फिल्मको आउँदो फेब्रुअरी १५ अर्थात् फागुन ३ गते बेलायतको लन्डन अल्डरसटमा प्रिमियर हुँदैछ ।
निर्देशक मिलन चाम्सका अनुसार अल्डरसटमा रहेको एम्पाएर हलमा स्थानीय २ बजे फिल्मको प्रिमियर हुनेछ । ‘कप्तान सुब्बाको जीवनी हामीले कल्पना गर्ने कथा भन्दा कम छैन । साथै अहिले हुने प्रिमियरको उदेश्य कप्तान सुब्बाको घर निर्माणमा गर्नु हो । त्यसकारण हामीले नियमित शो भन्दा अगाडी प्रिमियर गरिरहेका छौँ’, निर्देशक चाम्सले भने ।
यो प्रिमियरमा सहभागी हुनेले मनोरन्जनसँगै सामाजिक कार्यमा पनि सहभागिता जनाउने भएकाले आकर्षण बढ्दो छ । यस शो र सहयोगबाट प्राप्त रकमलाई अञ्जिलाक घर निर्माणमा प्रयोग गरिने बताईएको छ । ‘यो फिल्म हेर्दा समय र पैसा दुबैको सदुपयोग भएको छ’, निर्देशक चाम्सले भने ।
निर्माता प्रेमकुमार श्रेष्ठले बेलायतपछि दक्षिण कोरियामा मार्च २ मा प्रिमियर गरिने जानकारी दिए । कप्तान सुब्बाको धर्म पिता समेत रहेका श्रेष्ठले अञ्जिलाको आफ्नै घर हुनेमा दुइमत नरहेको बताए । फिल्मको प्रिमियरमा निर्देशक चाम्स, निर्माता श्रेष्ठ लगायत सहभागी हुनेछन् ।
फिल्ममा अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । यसका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । नेपालमा फागुन २९ मा प्रदर्शन हुने फिल्मलाई काठमाडौँमा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछन् ।








