फिल्म । मिलन चाम्सको आगामी फिल्मको शीर्षक ‘सुम्निमा’ तय भएको छ । प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुने भएको छ । निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म तयार गर्ने भएकाले यसलाई बहुभाषी बनाइने बताए । नेपाल र बेलायतमा यो फिल्म अगस्टदेखि छायांकन हुनेछ । यो फिल्मको अन्तर्राष्ट्रिय वितरणमा उनको अघिल्लो फिल्म ‘गोर्खा वारिअर’लाई दक्षिण कोरियामा वितरण गरेको कम्पनीले चासो दिएको छ ।
‘अन्तर्राष्ट्रिय वितरणको लागि कोरियाली कम्पनीलाई दिने कि अन्यलाई भन्ने टुंगो लाग्न बाँकी छ’ उनले भने । विहिबारदेखि कलाकारलाई अनुबन्धित गर्ने क्रम सुरु हुने जानकारी चाम्सले दिए । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने फिल्म निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ । फिल्मलाई राजीव थापाले लेखेका हुन् ।
चाम्स निर्देशित पछिल्लो फिल्म ‘अञ्जिला’ २९ फागुनदेखि नेपालका हलमा प्रदर्शन तयारीमा छ । यो फिल्म बेलायतमा भने फेब्रुअरी १५ मा रिलिज गर्ने तयारी छ ।









