वैशाख अन्तिममा महाधिवेशन गर्दै सङ्गीतकर्मी सङ्घ

सङ्गीत । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको १८औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । सङ्घले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो । सङ्घका महासचिव अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । महाधिवेशनको उद्घाटन बैशाख २८ गते काठमाडौंको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ ।

महासचिव खातीका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले महाधिवेशनको उद्घाटन गर्नेछन् । यस्तै, निर्वाचन कार्यक्रम २९ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

उनका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी सङ्घको स्थापना भईरहेको छ । मुलुकका सात प्रदेश र काठमाडौं उपत्यका थप एक प्रदेश गरी संघको ८ प्रदेश रहेको र जसमा २० हजार भन्दा बढी कलाकारहरु सदस्य भएको बताईएको छ ।

सङ्घको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी विभिन्न पदाधिकारीहरु संघको कार्यसमिति बैठकले मनोनयन गर्ने पप्रावधान रहेको छ । संघका पूर्व अध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफुहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज वृहत भएको निकै खुसी लागेको छ भने ।

कमेन्ट गर्नुहोस्