फिल्म । ‘प्रेम गीत’ शृंखला निर्माण गर्ने कम्पनि आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट ‘बलिदान’ नयाँ कलाकारले अवसर पाउने भएका छन् । निर्देशक तथा निर्माता सन्तोष सेनले इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन्।
प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए । सेनले महिला पात्रको लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी भएको बताए । त्यस्तै, पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको जनाए ।
अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरबाइक हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्नेछ भने पुरुष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नुपर्नेछ। पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ । आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ।
अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना inbox.aasusenfilm@gmail.com मा र ह्वाट्सएप मेसेन्जर नम्बर 9811840082 मा सन्देशमार्फत सम्पर्क गर्न सकिने छ।
‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । यसमा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा, अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । यसै वर्ष रिलिज हुने ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। शनिवार सेट तयार गरिने विभिन्न स्थानहरूमा भूमि पुजा गरिएको थियो । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै हुँदैछ। आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।