सुली परिवारको कथामा आधारित हुनेछ ‘अवतारः फायर एन्ड ऐश’

फिल्म । हलिउडको बहुप्रतीक्षित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ ले प्रशंसकहरूमा उत्साह जगाएको छ । फिल्मसँग सम्बन्धित हरेक अपडेटमा दर्शकको ध्यान केन्द्रित छ र हालै यसको कथा, खलनायक, र रिलिज मितिबारे महत्त्वपूर्ण जानकारी सार्वजनिक भएको छ । ‘अवतार’ फ्रेन्चाइजको तेस्रो भाग ‘अवतारः फायर एन्ड ऐश’ डिसेम्बर १९, २०२५ मा विश्वभर रिलिज हुने पक्का भएको छ ।

यो जानकारी सन् २०२४ को अगस्त १० मा ‘अवतार’ को आधिकारिक इन्स्टाग्राम पेजमार्फत दिइएको हो । निर्देशक जेम्स क्यामरुनले लस भेगासमा आयोजित सिनेमा कन कार्यक्रममा भिडियोमार्फत फिल्मको कथाले सुली परिवारलाई केन्द्रमा राखेको बताएका छन् । उनका अनुसार, यो फिल्मले पान्डोराको चन्द्रमामा सुली परिवारका लागि नयाँ चुनौतीहरू प्रस्तुत गर्नेछ ।

अवतार शृंखलामा हालसम्म नाभी जनजातिलाई नायक र मानवलाई उपनिवेशवादी खलनायकको रूपमा देखाइएको थियो । तर, ‘अवतारः फायर एन्ड ऐश’ मा कथामा नयाँ मोड आउने संकेत छ । क्यामरुनले न्यूजिल्यान्डमा दिएको जानकारीअनुसार, यो फिल्मले नाभी जनजातिको कथालाई निरन्तरता दिँदै दर्शकलाई चकित पार्ने नयाँ तत्त्वहरू प्रस्तुत गर्नेछ ।

फिल्ममा सैम वर्थिङ्टनले जेक सुलीको भूमिका निर्वाह गरेका छन् भने जो सल्डानाले उनकी श्रीमती नेतिरीको भूमिका निभाएकी छन् । सिगोर्नी वीभर र माइकल रोड्रिगेजलगायतका कलाकारहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । वाल्ट डिज्नीले अप्रिल ३ मा फिल्मको पहिलो झलक सार्वजनिक गरेको थियो, जसले प्रशंसकको उत्साह थप बढाएको छ ।

‘अवतार’ र ‘अवतारः द वे अफ वाटर’ ब्लकबस्टर साबित भइसकेका छन् । अब तेस्रो भागले पनि दर्शकलाई मोहित गर्ने अपेक्षा गरिएको छ । यो वर्षको अन्त्यमा रिलिज हुने यो फिल्मको प्रतिक्षा प्रशंसकहरूले उत्साहपूर्वक गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्