सङ्गीत । चर्चित भारतीय पार्श्वगायक विनोद राठौर र ९० को दशकमा ‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटा यो साता ठमेलस्थित लड अफ ड्रिक्स (एलओडी) मा गुञ्जिने भएका छन् । म्याड इन्टरटेनमेन्ट एण्ड म्यानेजमेन्टले भारतीय गायक राठोर र नेपाली गायक ओकिलीलाई आगामी चैत २५ गते (अप्रिल ८) मा एकसाथ प्रस्तुत गर्न लागेको हो ।
‘कोइना कोइ चाहिए’, ‘खलनायक हुँ मै’, ‘ऐ मेरे हम्सफर’, ‘यारा ओ यारा’ जस्ता हिन्दी भाषाका लोकप्रिय गीतका गायक राठौर नेपालमा हुने सांगीतिक कार्यक्रमका लागि उत्साहित छन् ।
नेपालका सङ्गीत प्रेमी बीच राठौर विशेषतः ९० को दशकका बलिया भावनात्मक तथा रोमान्टिक गीतका कारण निकै चर्चित छन् । नेपाली दर्शक-श्रोतासँगको निरन्तर प्रेम र समर्थन नै आफ्नो नेपाल यात्राको कारण भएको राठौरले बताएको आयोजकले जनाएका छन् ।
उनीसँगै ९० को दशकमा ‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटाले आफ्नो प्रस्तुती दिनेछन् । नेपाली-अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । पेशागत रूपमा उनी ‘ओकिली’ नामले चिनिन्छन् ।
नेपाली-अमेरिकी संगीतकार ओकिलीले सन् १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए । ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन् ।










