पात्रमा ‘फिट’ स्वस्तिमा

फिल्म । आफूलाई चरित्र अनुसार प्रस्तुत गर्ने अभिनेत्री स्वस्तिमा खड्का वर्तमान समयमा निर्माता तथा निर्देशकको पहिलो रोजाइमा पर्छिन् । चरित्रमा भिज्ने र पर्दामा देखिने उनको सहज तथा स्वभाविक अभिनयले उनको स्टारडम बढाउन मदत गरेको छ । त्यस्तो उनले निर्वाह गर्ने भूमिकामार्फत स्वयमलाई पनि च्यालेन्ज दिएको बुझ्न सकिन्छ । शुक्रबारबाट उनी आफ्ना पति तथा निर्देशक निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको ‘दिमाग खराब’बाट पर्दामा देखिदैछिन् ।

यसपटक उनलाई सोधिने एउटा प्रश्नको अन्त्य भएको छ । उनले भनिन्,‘मलाई जहिले निर्देशक बस्नेत (श्रीमान) को फिल्ममा कहिले काम गर्ने ? उहाँले लिनु हुदैन ? भनेर सोधिने प्रश्नको अन्त्य भएको छ । यसपटक आफ्नै श्रीमान निर्देशक हुँदा केही भिन्न महसुश गरेता पनि म निर्देशकले भने अनुरुप नै काम गरेकी छु, यो एउटा कलाकारको दायित्व पनि हो ।’

फिल्ममा उनी गृहिणीको भूमिका छिन् । उनी एउटा साधारण परिवारकी गृहणी / महिला झैँ देखिएकी छन् । उनको गेटअपले ‘चिसो मान्छे’की ‘पुष्पा’ बिर्साइदिन्छ । दसैँमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’मा ‘दुर्गा माता’ बनेकी स्वस्तिमा यसमा अभिनेता खगेन्द्र लामिछानेकी जीवनसंगिनी बनेकी छन् ।

‘मैले दर्शक भएर हेर्दा उहाँका (निश्चल) कथामा महिला पात्र वेल रिटन भएको पाउँदिन थिएँ । यो कुरा मैले पहिले पनि भन्थेँ । तर, यो फिल्ममा त्यो समस्या छैन भन्ने लाग्छ’, स्वस्तिमाले भनिन् । उनले यसपटक आफूले निश्चललाई महिला पात्रलाई प्राथमिकता दिन धेरैपटक सुझाव दिएकाले त्यसतो नहुनेमा उनी विश्वस्त छिन् । ‘दिमाग खराब’मा हरेक क्यारेक्टरमा कथाको हिसाबले महत्त्व खोजेको छ ।

‘कुनै पनि क्यारेक्टरले त्यो किन भनिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । तर, फिल्ममा पुरुषलाई कमजोर बनाउन महिलाकै भूमिका हुन्छ भनेर देखाइनु हुन्न । दिमाग खराबमा मेरो चरित्रले श्रीमानलाई विदेश जान कर गरिरहेको ट्रेलरमा देखिन्छ’, उनले भनिन्, ‘उसले किन कर गर्यो भन्ने कारण सिनेमामा छ । यसपटक पनि स्वस्तिमा आफ्नो अभिनयमा अगाडि नै हुनेछिन् र तारिफको अर्को एउटा अध्याय थप्नेछिन् ।

उनले एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई फिल्मभित्र देखाईएको बताईन् । यसमा दयाहाङ राई, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

Photo By :- Ranga Raj Acharya

कात्तिक २४ मा प्रदर्शन तय गरिएको फिल्ममा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के बाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पार्श्व सङ्गीत सिर्जना गरेका छन् । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रहेका छन् ।

कमेन्ट गर्नुहोस्