‘सबै विधामा काम गर्न सक्षम छौँ’

फिल्म । निर्देशक कृषा चौलागाईंले महिला निर्देशक सबै विधाका फिल्म निर्देशन गर्न सबल रहेको बताएकी छिन् । एक्सन विधामा तयार गरिएको ‘पिताम्बर’को प्रचारप्रसारका क्रममा निर्देशक चौलागाईंले महिला निर्देशक हुँदैमा सोसल विधाका फिल्म मात्र निर्देशन गर्छन भन्ने सोचलाई आफ्नो कामले जवाफ दिएको बताइन ।

उनले भनिन्,‘यति धेरै कलाकार र प्राविधिकलाई लिएर एउटी महिला निर्देशकले कसरी काम गर्न सक्छिन् ? भन्ने प्रश्न धेरैको थियो । त्यसैले पनि मलाई काममा झनै लगनशील रहन र मेहनत गर्न प्रेरित गर्यो । यो श्रव्यदृश्य त केही होइन फिल्म निकै भव्य बनेको छ । यो सम्भव हुनुमा सम्पूर्ण कलाकारले म प्रति गर्नुभएको विश्वास र निर्माण समूहको सहयोग मुख्य कारण रहेको छ ।’

उनले फिल्ममा सामाजिक विषय उठान गरिएको भएता पनि प्रस्तुतीकरण द्वन्द्वप्रधान भएको बताईन । यहि फिल्ममार्फत एक्सन विधामा प्रस्तुत भएका अभिनेता प्रदीप खड्काले आफूले निर्माण समूहको लगनशीलता देखेर विषयवस्तु नसुन्दै अभिनयका लागि सहमति दिएको बताईन ।

उनले भनिन्,‘फिल्म निर्माण गर्ने शैली, त्यसप्रतीको लगावले मलाई राम्रो काम गर्नुहुन्छ भन्नेमा विश्वत बनायो । त्यसका साथै मैले निर्वाह गरेको भन्दा यो फरक भूमिका थियो । आफूलाई नयाँ रुपमा दर्शकसम्म लान पाएपछि अभिनेताले कसरी नाई भन्न सक्छ र ? यो फिल्म बनिरहेका भन्दा फरक र भिन्न छ ।’

यसमा अभिनेता खड्कासँगै दिव्य देव, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा, प्रमोद अग्रहरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रदीप भारद्वाज र अभिमन्यु निरवीले संयुक्त रुपमा पटकथा र संवाद लेखेको फिल्म ‘पिताम्बर’ मा पुरुषोत्तम प्रधानले छायाङ्कन निर्देशन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्दे प्रसादले सम्पादन, आशीष अविरल र बाबुल गिरीले सङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन ।

कमेन्ट गर्नुहोस्