नेपालमा कस्तो छ ‘सैयारा’को व्यापार ?

फिल्म । मोहित सुरीद्वारा निर्देशित रोमान्टिक ड्रामा फिल्म ‘सैयारा’ले भारतसँगै नेपालको बक्सअफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ । नयाँ कलाकार अहान पाण्डे र अनित पड्डाको जोडीले अभिनय गरेको यो फिल्मले भारतमा पाँच दिनमा १ सय ३३.७५ करोड नेट भारु कमाएको छ ।

नेपालमा पनि ‘सैयारा’ले उत्कृष्ट प्रदर्शन गरेको छ । बुधबार अपराह्नसम्म फिल्मले नेपालमा २ करोड ५३ लाख ग्रस कमाइ गरेको छ, जुन कुनै ठूला स्टारविना बनेको फिल्मका लागि उत्साहजनक मानिएको छ । डेटाअनुसार, यो फिल्म विशेषगरी युवापुस्ताका दर्शकमाझ लोकप्रिय छ, जसले ‘वर्ड अफ माउथ’को आधारमा उत्कृष्ट व्यापार गर्न सफल भएको छ ।

अहान पाण्डे र अनित पड्डाको फ्रेस केमेष्ट्री, मोहित सुरीको प्रभावशाली निर्देशन, शक्तिशाली संगीत, हृदयस्पर्शी कथावाचन, राम्रो बजारीकरण र सामाजिक सञ्जाल प्रवर्द्धन, बलियो ‘वर्ड अफ माउथ’ र समीक्षकहरूको सकारात्मक प्रतिक्रियालाई फिल्मको सफलताको कारण मानिएको छ । यी तत्वहरूले कम बजेटको यो फिल्मलाई उच्च प्रतिफल प्राप्त गर्न सहयोग गरेको छ ।

कमेन्ट गर्नुहोस्