भूतसँग नडराउने प्रियंका मानिससँग किन डराउछिन् ?

फिल्म । अभिनेत्री प्रियंका कार्की आफ्नो बोल्ड छवि र बयानका कारण चर्चामा आउने गर्छिन् । नेपाली फिल्मकर्मी र दर्शक माँझ आफूलाई प्रस्तुत गर्न जानेकी अभिनेत्री कार्कीले आफ्नो पछिल्लो फिल्म ‘मम्मी’ को प्रचारप्रसारको क्रममा मान्छेसँग डर लाग्ने बताएकी छिन् । हरर फिल्ममा देखा परिरहने अभिनेत्री कार्कीले भूतसँग नभई मानिससँग डर लाग्ने भनि दिएको बयान यतिबेला चर्चामा छ ।

‘मलाई भूतसँग डर लाग्दैन । बरु, मानिसहरूसँग डर लाग्छ । भूतहरूसँग त बसेर गफ गरेर साथी बनाउँछु जस्तो लाग्छ । तर, वास्तविक मानिसहरूको सोच हिजोआज थाहा हुँदैन’, उनले भनिन् ।

उनले मानिसमा इमान्दारिता नहुने सङ्केत गरेकी हुन् । उनले यो सङ्केतको कसलाई गरेकी हुन् ? यसबारे केहि बताइनन् । यद्यपि कुनै समय फिल्म क्षेत्रमा मिलनसार अभिनेत्रीको ट्याग पाएर चर्चामा रहने अभिनेत्री कार्कीको अवस्था अहिले फेरिएको छ । उनको व्यस्तता फिल्मको तुलनामा भिडियोमा बढेको छ । म्युजिक भिडियो हुँदै फिल्मतर्फ आएकी अभिनेत्री कार्की पुनः त्यतै व्यस्त हुनु सुखद मानिएको छैन ।

उनी अभिनित पछिल्लो फिल्मको कुरा गर्ने हो भने यसमा दीया मास्के, समीप निरौला, सुलक्षण भारती लगायतको अभिनय रहेको छ । समर निरौलाको निर्देशनमा तयार भएको फिल्म आउँदो माघ २५ मा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्