‘वसन्त’ ले प्रकाशबाट के खोस्यो ?

फिल्म । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’ आउँदो चैतमा प्रदर्शन हुँदैछ । चैते दसैँको अवसर पारेर प्रदर्शनमा आउने फिल्को छायांकन सकिएर पोस्टप्रोडक्सनमा रहदा प्रकाशले पोस्टर सार्वजनिक गर्दै आफ्नो भावना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूबाट फिल्म निर्माणको क्रममा धेरै कुरा खोसिएको उल्लेख गरेका छन् ।

‘वसन्त निर्माणको क्रममा समयले मबाट धेरै कुरा खोसेको छ । सङ्गीतबाट कमाएको केही साथीभाई खोजेको छ । केही सम्बन्ध, केही भगवान जस्तै मान्ने दर्शक खोसेको छ । मेरो स्टेज खोसेको छ, योजना विपरित बीचमा प्रदर्शनमा आएको एक फिल्ममा समय दिन नपाउँदा मेरो दर्शकबाट इमान खोसेको छ’, उनले उल्लेख गरेका छन् ।

आफूबाट खोसिएको समयलाई ‘वसन्त’ ले फिर्ता गर्नेमा आफू आशावादी रहेको उल्लेख गर्दै आफ्नो सपनालाई मुर्तरुप दिन पाउँदाको खुसीलाई शब्दमा व्यक्त गर्न नसकिने उनको भनाई छ । उनले फिल्मको प्रतिक्रियाले आफ्नो प्रतिभाको मापन गर्ने समेत उल्लेख गरेका छन् ।

‘वसन्त बबाल लाग्यो भने म बबाल हुँ भन्ने होला नत्र मेरो प्रतिभाको दायरा र सिमितता यती नै हो भन्ने बुझ्नु होला । मेरो जीवनको आगामी कर्म जे भएपनि वसन्तकै रङ्ग देखिने छ । आउँदो हप्ता हाम्रो सिर्जनालाई कोसेली स्वरूप ल्याउदै छौँ’, उनले उल्लेख गरेका छन् ।

फिल्म निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको छ ।

फिल्ममा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ । सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ ।

कमेन्ट गर्नुहोस्