‘हरर’ विधामा नयाँ आश ‘मम्मी’

फिल्म । नेपालमा ‘हरर’ विधालाई हेर्ने दर्शक भएता पनि फिल्म न्यून सङ्ख्यामा बन्ने गरेका छन् । नेपालमा ‘हरर’ विधामा निर्माण भएका विदेशीसँगै स्वदेशी फिल्मले राम्रो कमाइ गरेता पनि निर्माणमा सुस्तता देखिनु प्राविधिक कठिनाइलाई मुख्य कारण मानिएको छ । यद्यपि समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ लाई ‘हरर’ विधामा तयार गरेकाछन् ।

नियमित भन्दा केही फरक गर्ने उदेश्यले फिल्म तयार गरेको निर्देशक निरौलाले बताए । उनले भने,‘हामीले हलमा नयाँ दर्शकलाई ल्याउने प्रयाशस्वरूप भिन्न विधालाई रोजेका हौँ । एकै किसिमको फिल्मले हाम्री उद्योगलाई रचनात्मक रुपमा सबल बनाउन सक्दैन । ‘हरर’ विधामै तयार गरेता पनि यो एउटा परिवारको कथा हो । कुकुरको निधन भएपछि आउने घटनाक्रमलाई यसमा देखाएका छौँ ।’

यस फिल्ममा अभिनेत्री प्रियङ्का कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारले अभिनय गरेका छन् ।

निर्देशक निरौलाकै लेखन रहेको फिल्ममा निशल पौडेल र शरद महतोले छायाङ्कन, दीपेश चौधरीले रङ्ग संयोजन, सुरेन महर्जनले सम्पादन गरेका छन् । फिल्म माघ २५ मा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्