फिल्म । आउँदो पुस २७ गते प्रदर्शन हुने फिल्म ‘पर्खी बसें तिमीलाई’ ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । फिल्मका निर्देशक दीपक श्रेष्ठ, अभिनेता किरण श्रेष्ठ, अभिनेत्री रक्षा बुढाथोकी र निर्माता राजाराम बुढाथोकी काठमाडौँ उपत्यकाका विभिन्न कलेजमा पुगेर फिल्मको बारेमा जानकारी गराईरहेका छन् । आइतबार मात्र फिल्म टिमले कुमारीपाटीमा रहेको ब्लू बर्ड कलेज र बागबजारमा रहेको काठमाडौँ मोडेल कलेज (केएमसी) मा पुगेर फिल्मको बारेमा प्रचारप्रसार गरे ।
निर्देशक श्रेष्ठले युवापुस्ताको प्रेम कथा रहेकाले युवालाई लक्षित गर्दै प्रचार गरिएको जानकारी दिए । ‘हाम्रो फिल्मको कथा युवापुस्ताको प्रेममा केन्द्रीत छ । उनीहरूले फिल्ममार्फत प्रेममा आउने उतारचढाव र त्यसको कारणलाई सहजै बुझ्न पाउनेछन् । अभिभावकले पनि आफ्नो दायित्व र युवापुस्ताको चाहनालाई बुझ्ने छन्’, निर्देशक श्रेष्ठले भने । उनले कलेजका विद्यार्थीलाई फिल्म बारे जानकारी गराएको र उनीहरू फिल्मलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिए ।
डेब्यु अभिनेता किरण श्रेष्ठले कलेजमा पुगेर साक्षात्कार गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘मेरो डेब्यु फिल्म भएकाले पनि कलेजमा पुगेर प्रचार गर्न पाउँदा उत्साहित छु । किनकि यो कलेजमा पढ्ने युवाले रिलेट गर्ने प्रेम कथा हो । आकर्षण, प्रेम र त्यसमा गल्तीले निम्त्याउने परिणामलाई यसमा देखाईएको छ । त्यसैले गर्दा पनि यो युवाले अभिभावकसँग बसेर हेर्न पर्ने फिल्म हो’, अभिनेता श्रेष्ठले भने ।
अभिनेत्री बुढाथोकी आफूले अध्यन गरेको नैकापस्थित ब्राइट फ्युचर स्कुलबाट सुरु भएको प्रचारले आफूलाई थप हौसला प्राप्त भएको बताइन । ‘आफू पढेको वा जोडिएको स्कुल, कलेजमा पुग्दा त्यहाँ प्राप्त हुने ऊर्जा छुटै हुने रैछ । मलाई बाल्यकालमा प्रोत्साहन गर्ने स्कुलसँगै हाल अध्यन गरिरहेको कलेजमा पुग्दा पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिन’, रक्षाले भनिन् ।

उनले कलेजमा विद्यार्थीहरूले प्रश्नको जवाफ दिएकी थिइन् । साथै, अभिनेता श्रेष्ठसँग ‘कालो चस्मा लाउँ है मैया’ मा नृत्य समेत गरेकी थिइन् । निर्माता राजाराम बुढाथोकीले प्रदर्शनको साता भएकाले पनि प्रचारप्रसारलाई तिब्रता दिएको बताए । ‘हामीले एउटा राम्रो फिल्म तयार गर्ने कोसिस गरेया छौं । यो सम्पूर्ण परिवारले एकसाथ हेर्नु पर्ने फिल्म हो’, निर्माता बुढाथोकीले भने ।
निर्देशक श्रेष्ठले यो पर्खिरहेको व्यक्तिको कथा रहेको बताए । ‘हामीले एउटा सुन्दर कथा लिएर आएका छौँ । यसले सबै वर्गको दर्शकलाई आकर्षित गर्छ भन्नेमा विश्वस्त छौँ’, निर्देशक श्रेष्ठले भने । उनले आफ्नो पहिलो फिल्म ‘गाउँले’ मा समावेश गीत ‘गोलि सिसाको मेरो माया’ भन्ने नैकापकै खेल मैदानमा छायांकन गरेको स्मरण समेत गरेका थिए । निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसें’ झैँ यसपटक पनि नयाँ अनुहारलाई डेब्यु गराएको जानकारी दिए । ‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई फिल्म उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने ।

उनेल २६ औँ फिल्मको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत डेब्यु गर्ने कलाकारको भविष्य उज्वल रहेको बताए । फिल्ममा आकाश (किरण) र आभा (रक्षा) को भेट, बढ्ने सामिप्यता, प्रेम र विछोडलाई देखाईएको छ । आकाशले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् भने आभा सम्पन्न परिवारको छोरीको भूमिकामा छिन् । निर्देशक श्रेष्ठले नयाँ भएता पनि काममा भने उनीहरु परिपक्क रहेको बताए ।
यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।
