‘ह्रस्व दीर्घ लेखकले परिकल्पना गरे भन्दा भव्य बनेको छ’ : हरिहर

फिल्म । आगामी कात्तिक ३० गतेबाट प्रदर्शन हुने फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनेता, निर्माता र लेखकको भूमिका युवा ज्योतिष हरिहर अधिकारीले निर्वाह गरेका छन् । उनले लेखकले फिल्म लेख्दै गर्दा सोचेको वा परिकल्पना गरेको दृश्य भन्दा फिल्म भव्य बनेको प्रतिक्रिया दिएका छन् । उनले भने,‘लेखकले फिल्म लेख्दै गर्दा, पटकथा तयार गर्दै गर्दा एउटा परिकल्पना गरेको हुन्छ, त्यो भन्दा भव्य दृश्य फिल्ममा छ । यो भव्यता पनि चाहिन्छ भन्ने लगेर हो, कति हामीले बाहिरका फिल्ममा मात्र भव्यता हेर्ने ? हामीले पनि सिमित बजेटमा त्यो आट गरेका छौँ ।’

उनले ज्योतिशास्त्र अनुरुप फिल्मको सुरुआत राम्रो दिनमा भएकाले कुनै वाधा नभई कार्य सम्पन्न भएको बताए । ‘फिल्मको ग्रह राम्रो छ । तर, मेरो काम सकिसक्यो । राम्रो दिनमा सुरु गर्यो भने गन्तव्यमा पुगिन्छ, नराम्रो दिनमा यात्रा गर्दा बाधा अड्चन आउन सक्छ भन्ने ज्योतिषशास्त्रको नियम छ । फिल्मको काम राम्रो साइतमा सुरु गरेका थियौं । बाधा अड्चन केही नआइ ठूलो ग्राफको फिल्मको भनेकै दिनमा छायांकन सक्यौं’,अभिनेता अधिकारीले भने ।

उनले फिल्मको सेड्युल ४३ दिनमा सकिएको बताए । उनले भने, ‘पोस्टरमा देखिएका अनुहारलाई लिएर नेपालसँगै हैदरावादमा समेत छायांकन गरेर हामीले बेलामै कार्य सम्पन्न गर्यौं, अझ भनौ कुनै अड्चन आएन् । यो राम्रो दिनमा सुरुआत गरेकाले फल पाएका हौँ । फिल्मको प्रदर्शनको कुरामा चाहिँ ज्योतिषशास्त्रको कुनै हात हुँदैन । दर्शकको साथ र मायाले मात्र सफलता प्राप्त गर्न सकिन्छ ।’

उनले ‘ह्रस्व दीर्घ’ ज्योतिषशास्त्र र धर्मले नभरिएको बताए । यद्यपि कथा जोडिएकी प्रसंग भने नकारेनन् । ‘धर्म र ज्योतिष विज्ञानसँग कथा जोडिएको छ, तर सम्पूर्ण कथा त्यहि मात्र भने होइन । यो अहिलेसम्म नदेखिएको एउटा छुटै कथा हो’, अभिनेता अधिकारीले भने ।

नेपाल र भारतीय कलाकारको अभिनयका कारण राम्रो हाइप बनाइरहेको फिल्मलाई चन्द्र पन्त निर्देशन गरेका हुन् । उनका अनुसार यो एउटा पूर्ण रूपको फ्यामिली ड्रामा भनिएको छ ।

‘यो फिल्ममा चाहिने सम्पूर्ण मनोरन्जनको खुराक छ । यसले मुहारमा हाँसो ल्याउनुका साथै आँखालाई शितलता दिन्छ । यो सबै वर्गका दर्शकको लागि हो, यो फिल्म हेर्न सपरिवार हलमा पुग्न आग्रह गर्दछु’, निर्देशक पन्तले भने ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्