फिल्म । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को वर्ल्ड प्रिमियर समारोहमा सहभागि हुन भारतीय अभिनेतात्रय प्रदीप रावत, ब्रम्हानन्दम र अली काठमाडौं आउने भएका छन् । हालै फिल्मको ट्रेलर सार्वजनिक गर्दै अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले उल्लेखित भारतीय कलाकार नेपाल आउने जानकारी दिईन् । उनीहरु कात्तिक २९ गते काठमाडौँमा हुने वर्ल्ड प्रिमियरमा सहभागी हुनेछन् ।
३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा यी तीनैजना भारतीय कलाकारले अभिनय गरेका छन् । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाल र भारतका कलाकारले संयुक्त रुपमा अभिनय गरेका छन् । कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निर्देशक पन्तले एउटा पूर्ण रूपको फ्यामिली ड्रामा भन्न रुचाउछन् । उनले फिल्ममा ब्रह्मानन्दमको अन्य भन्दा धेरै लामो भूमिका रहेको बताए ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।












