‘जुना फिल्मसँगै अभियान पनि हो’ : निर्देशक सेञ्चुरी

फिल्म । बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ ले मनोरञ्जनसँगै सामाजिक संदेश दिने निर्देशक जीवन सेञ्चुरले बताए । फिल्मको ट्रेलर सार्वजनिक गर्दै विश्वभर व्याप्त रहेको बालविवाहको समस्या विरुद्धको चेतना बढाउन फिल्म निर्माण उपयोगी लागेको बताए ।

उनले भने,‘अपरिपक्क व्यक्तिले सानो उमेरमा विवाह गर्दाको परिणामलाई यसमा देखाईएको छ । यो कथाले सामाजिक शिक्षाको काम गरेमा हामी सफल हुन्छौं । यो जहाँ जहाँ विशेष प्रदर्शनी भएको छ, सबैको आँखा रसाएका छन् । यो फिल्म मात्र नभई एउटा अभियान पनि हो ।’

उनले फिल्मकी लिड कास्ट अस्मिता ढकाललाई सिकाएर अभियान गराएको स्मरण गरे । उनले पात्र सुहाउँदो कलाकार चयन गरेकाले पर्दामा जीवन्त देखिएको बताए । ‘झट्ट हेर्दा अनुहार बिक्ने कलाकार कमै देखिएका होलान् । तर, फिल्म हेर्दा दर्शकले जीवन्त अभिनय पाउनु हुन्छ । हामीले पात्र जुनालाई अभिनय बारे बुझाएर काम गराएका छौँ’, निर्देशक सेञ्चुरीले भने ।

आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । यसका निर्माता दीपकप्रसाद घिमिरे हुन् ।फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

कमेन्ट गर्नुहोस्