फिल्म । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाल र भारतका कलाकारले संयुक्त रुपमा अभिनय गरेका छन् । कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निर्देशक पन्तले एउटा पूर्ण रूपको फ्यामिली ड्रामा भन्न रुचाउछन् ।
‘यो फिल्ममा चाहिने सम्पूर्ण मनोरन्जनको खुराक छ । यसले मुहारमा हाँसो ल्याउनुका साथै आँखालाई शितलता दिन्छ । हामीले आफ्नो सिमित श्रोत साधनमा बेस्ट दिने कोसिश गरेका छौँ । यसले धेरै बाटो खुल्ला गरेको छ’, निर्देशक पन्तले भने ।
उनले सुरुआती समयमा भारतीय कलाकारको स्थानमा नेपाली कलाकारलै प्रस्ताव गरिएको तर उहाँहरूले सहमति नदिएपछि अहिले देखिएका कलाकार अनुबन्धित भएको जानकारी दिए ।
‘राजेश हमाल, जीतु नेपाल लगायतका धेरै कलाकारलाई प्रस्ताव गरेका थियौँ । उहाँहरूले प्रस्ताव अस्विकार गरेपछि मात्र हामीले भारतीय कलाकार लिएका हौं । सोही कारण पनि अहिलेको कास्टिङ भएको हो’, उनले भने ।
उनले फिल्ममा एउटा कलाकार भन्दा पनि समग्रमा स्क्रीप्ट नै हिरो भएको प्रतिक्रिया दिए । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।